कविद्वय तोसेल बोबो (दुताराज राई) र कबिन वाम्बुले (तुलाचन राई)लाई ‘लिब्जु–भुम्जु पुरस्कार’ प्रदान गरिएको छ ।
२०५० सालदेखि वाम्बुले भाषामा प्रकाशित ‘लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिका प्रकाशित वर्षको उत्कृष्ट एक कविका कवितालाई हरेक वर्ष पुरस्कृत गरिदै आएकोमा यस वर्ष कवि तोसे बोबो र कवि कविन पुरस्कारको लागि छनोट भएका हुन ।
ओखलढुंगाको मानेभन्ज्याङ–६ जाकुमो गाउँका ३० वर्षीय कवि तोसेल बोबोलाई २०७८ सालमा प्रकाशित ‘उङगुया बाँसुरि त्वाप्चो’ (म पनि बाँसुरी बजाउने) शीर्षक कवितालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
यसैगरी खोटाङ हलेसी तुवाचुङ नगरपालिका–१ झाप्पागाउँका २५ वर्षीय कवि कबिनलाई २०७९ सालमा प्रकाशित ‘आ मामा’ (मेरी आमा) शीर्षक कवितालाई पुरस्कार प्रदान गरिएको हो ।
कवि तोसेल बोबो २०७८ सालमा देशबाहिर रहनु भएकोले यस वर्ष मात्रै पुरस्कार प्रदान गरिएको लिब्जु भुम्जु पत्रिकाको प्रकाशक तथा सम्पादक गणेश राईले बताउनु भयो ।
पुरस्कार वितरण वाम्बुले राई समाजको केन्द्रीय कार्यालय, ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोलमा किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राईको प्रमुख अतिथ्यमा पुरस्कारका संस्थापक पत्रकार पुष्पहरि क्याम्पाराई, राष्ट्रगान सर्जक व्याकुल माइला, वाम्बुले राई समाजका अध्यक्ष तथा पत्रकार गजुरधन राई र सम्पादक गणेश वाम्बुले राईले शुक्रबार आयोजित समारोहमा उक्त पुरस्कार प्रदान गरेका हुन् ।
नेपाल टेलिभिजनका समाचार प्रमुख, बरिष्ठ समाचार सम्पादक तथा गीतकार पुष्पहरि क्याम्पाराईले पत्रिकाको नाममा लिब्जु–भुम्जु पुरस्कार–२०५५ सालमा स्थापना गर्नु भएको हो । पुरस्कारको राशि जनही पाँच हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ ।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार वाम्बुले मातृभाषा बोल्नेको संख्या १५ हजार २ सय ८५ जना रहेको छ । वाम्बुले राई भाषा, साहित्य, संस्कृति, संगीत, किरात सिरिजङ्गा लिपिसम्बन्धी तीन दर्जन कृति प्रकाशित छन् ।
भिडियो लिंक