एक दिन सत्य र झुटको भेट भयो । झुटले सत्यलाई भन्यो, ‘आज बडो रमाइलो घमाइलो दिन छ सँगै खेलौं ।
हुन पनि त्यो दिन अद्भुत नै थियो, हेर्दै राम्रो । चुपचाप बस्नै मन नलाग्ने किसिमको । सत्यले झुटको कुरा नकार्ने कारण थिएन । दुवैले धेरैबेर प्रकृतिमा डुल्दै खेल्दै रमाए । डुल्दा डुल्दै मध्य दिनमा उनीहरू एउटा इनार नजिकै पुगे । झुटले सत्यलाई फकायो, ‘उखर्माउलो गर्मी छ । हिँड्दा हिँड्दा असिनपसिन नै भइयो । अब इनारमा पसौं र मज्जाले नुहाऔं ।’ यसमा पनि सत्यले नकारेन । दुवैले सबै लुगा फुकाले र सर्वांग नग्न भएर इनारभित्र डुबुल्की मारे ।
केहीबेर इनारमा नुहाएपछि झुट कुनै बहाना बनाएर इनारबाट बाहिर निस्क्यो । आफ्ना लुगा पोको पारेर बोक्यो । आफू भने सत्यका सबै लुगा लगाएर हिँड्यो । झुटले आफ्ना लुगा लगाएर हिँडेको चाल पाएपछि पनि सोच्यो कि झुट जिस्किरहेको छ । तर झुट निकैबेरमा पनि फर्किएन । त्यसपछि सत्य आफ्नो लुगा भेट्टाउन इनारबाट बाहिरिएर झुटलाई खोज्न निस्कियो । ऊ झुटलाई खोज्दै निकै परसम्म पुग्यो ।
मानिसले उसको कुरा सुन्दै सुनेनन्, बरु नांगै हिँडेको सत्यलाई देखेर दुनियाँले नाक खुम्च्याए र सत्यतर्फ हेर्दै नहेरी अर्कातिर मुन्टो बटारे । सत्यले कसै गरे पनि झुटलाई भेटेन । न उसले कसैको सहयोग नै पायो । विचरा सत्य फेरि उही इनारमा फर्केर पानीभित्र लाज लुकाउन सदाको निम्ति गायब भयो । अनि झुट त्यस बेलादेखि नै सत्यको भेषमा संसारभर घुमेको घुम्यै छ ।
सत्यको आवरणमा ढाकिएको झुटलाई सबैले मन पराएका छन् । नग्न सत्यको रूपलाई समाजले स्विकार्न चाहेको छैन । त्यसैले नग्न सत्य गायब छ । लुकिराखेकै छ । वास्तवमा सत्यको समस्या नै यही हो । सत्यलाई पहिरन वा आवरणका आधारमा छुट्याउन सकिँदैन । भन्न त भनिन्छ, आवरण जस्तो भए पनि सत्य सधैं पुज्य हुन्छ तर व्यावहारिकरूपमा यो एकदमै कठिन हुन्छ । सत्यभन्दा झुटमा कृत्रिम नै भए पनि चमक बढी हुन्छ । झुटसँग तर्क बढी हुन्छ ।
ज्ञान नै सत्य हो । तर यो विविध हुन्छ । सत्य सधैं आफूले बनाएको सत्यताको जगमा उभिएको हुन्छ तर सत्यताको जग समय र मानिस अनुसार फरक फरक हुन पुग्छ । किनभने जब सत्य फैलिन्छ तब मानिसले त्यसलाई आफ्नो किसिमको व्याख्या मिसाइदिन्छन् । मिसिएको व्याख्याले सत्य सुन्ने र थाहा पाउनेहरूले क्षमताअनुसार बुझ्छन् । ज्ञान परिवर्तन हुन्छ । अझ आफ्नो स्वार्थको हिसाबले मानिस ज्ञान र सत्यलाई तोडमोड पनि गर्दिन्छन् । यसैले उही सत्य पनि मानिस र समयअनुसार फरक पर्दै जान्छ ।
अंग्रेजीमा भनाइ छ, ‘झुटले संसारको दुई फन्को लगाइसक्दा सत्य घरबाट निस्कन भर्खर जुत्ताको तुना कस्दै हुन्छ ।’ यसको अर्थ हुन्छ, ‘सत्य ढिलो गरी एक ठाउँबाट अर्को ठाउँ पुग्छ तर झुटको फैलावटको गति तीव्र हुन्छ ।’