लिखु गाउँपालिका ६, गाम्नांगका कृष्ण भट्टराईको निधन भएपछि अन्तिम सँस्कारको लागि साँझ डुँडे खोला दोभान, तितेखानीमा लगिएको थियो । शब जलाउँदै गरेको बेला एक्कासी लिखु नदिमा पानीको बहाब आउँदा मलामीहरुले भागेर ज्यान बचाएभने शब लिखुले बगाएर बेपत्ता पारेको छ ।
लिखु तेस्रो जलविद्युत आयोजनाले बिना सूचना ड्याम खोल्दा यस्तो घटना भएको मलामी गएका प्रत्यक्षदर्शी राधाकृष्ण भट्टराई र महेश भट्टराईले बताउनु भयो ।
जलविद्युत आयोजनाको गम्भिर लापर्बाहीले उक्त घटना भएको लिखु ८ का स्थानीयबासी तथा लिखु सरोकार समाजका सदस्य लोकहरि तिमल्सिनाले बताउनु भएको छ ।
सो जलविद्युत आयोजनाको गम्भिर लापर्बाहिकै कारण यसअघि पनि २ जनाको ज्यान गै सकेको छ ।
दाहासँस्कारको लागि शब जलिरहेको र मलामीहरु जम्मा भएको मौकामा यसरी बिना सूचना ड्याम खोल्नु आयोजनाको नियतमाथि अशंका रहेको लिखु सरोकार समाजले व्यक्त गरेको छ ।
यसतर्फ सम्बन्धित निकायहरु (स्थानीय तथा प्रदेश), सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदै लिखु सरोकार समाजले यस्ता गतिविधिको घोर भर्त्र्सना गर्दै आएको छ ।
उक्त जलविद्युत आयोजनाको कारण सिंचाईको समयमा खोला खण्डहर बनेका र सम्बन्धीत निकाय एवं संघ-संस्थाहरुले आवाज उठाएको समयमा पानी छोड्ने गरेको देखिन्छ ।
गत वर्ष पोकली दोभानमा शब जलाएपछि चिता पखाल्ने पानी समेत नभएको समाचारले स्थानीयहरु आक्रोसित बनेको थिए ।