ठट्ठाको कुरा होइन, ऐतिहसिक प्रमाणबाट पुष्ट हुन नसके तापनि हाम्रो यहाँ तुलजा विषयका किंवदन्तीहरू चलेर आएका छन् । ‘देवमाला’ मा यस विषयमा यस्तो लेखिएको छ-
“अघि सत्ययुगमा दिव्य एक हजार वर्ष इन्द्रले श्रीसदाशिवको उपासना गर्दा, भगवान् आशुतोष प्रसन्न भै तुलजा भवानीको सुनमा अंकित भएको यन्त्र, मन्त्र र पद्धति (हस्तलिखित वंशावलीमा वज्र अर्थात हीरामा अंकित भएको भन्ने छ) इन्द्रलाई दिनुभयो । इन्द्रले पनि सो यन्त्र अमरावतीमा ल्याई भव्य मन्दिर बनाई यिनलाई विराजमान गराई आफ्नो इष्टदेवता मानी आराधना गरिरहेका थिए । पछि रावणको छोरा मेघनाथ स्वर्गमा आई इन्द्रसित लड्न थाल्यो र त्यहाँ तुलजा भवानी हुनुहुन्छ भन्ने कुरा बुझेकोले रोज नरबलि दिनेछु भन्ने भाकल गराई माईलाई संतुष्ट गराएको हुनाले इन्द्रलाई जित्यो र सो तुलजाको यन्त्र बोकी ल्याई लङ्कामा ठूलो मन्दिर (स्वर्गको भन्दा पनि राम्रो मन्दिर) बनाई स्थापना गर्यो र हर रोज एक नरबलि दिने प्रथा चलायो । पछि त्रेतायुगमा रावणले सीता हरण गरी सीतालाई अनेक कष्ट दिएबाट सीताजी पनि तुलजा भवानीकै विभूति हुनाले उनी रावणसित विमुख हुन गइन् र राम लक्ष्मणद्वारा रावण र कुम्भकर्ण समेत सबै रावण परिवारको ध्वंस भयो अनि श्रीरामले सोही तुलजा भवानीलाई अयोध्यामा ल्याई नरबलिको साटो पशुबलि दिने गरी मनाई हर रोज पशुबलि दिने प्रथा चलाई आफ्नो इष्टदेवता मानी स्थापना गर्नुभयो । पछि आफू स्वर्गारोहण हुने वेलामा यी तलेजुको यन्त्र, मन्त्र, पद्धतिसमेत एउटा तामाको पेटारीमा राखी सरयूमा डुबाई राखिदिनुभयो ।
वहाँकै (श्रीरामकै) पाँचौ पिँडीमा नल नाम गरेका राजा भए । उनले केही देवी सूचना पाई सो तलेजुको यन्त्र, मन्त्र, पद्धतिसमेतको पेटारी सरयूमा फेला पारी शहरमा ल्याई आफ्नो इष्टदेवता सम्झी दिनको एक पशुबलि दिई आराधना गर्न थाले। उनीले पनि आफ्नो प्रयाण कालमा आफूले पाएकै ठाउँमा सरयूमै लगी सो यन्त्र, मन्त्र र पद्धतिसमेत दबाई दिए। त्यसपछि फेरि राजा पुरुरवाले पनि केही दैवी सूचना पाई सोही मन्त्र पद्धतिसमेतको यन्त्र हात लगि गरी नलले झैँ आराधना गर्ने गरेथे। निजकै सन्तान राजा अलर्कले पनि यिनकै आराधना गर्दथे । पछि ब्रह्मज्ञानी भई बलि दिन छोडेका हुनाले भगवती अप्रसन्न भइन् । सो बुद्धी आफ्नो पूर्वजले राखेको ठाउँ सरयूमा लगी सुनको बट्टामा सो यन्त्र राखो सो बट्टा र मन्त्र पद्धतिसमेत एउटा तामाको पेटारीभित्र राखी दवाई आफूले देहत्याग गरे ।
त्यसपछि सो अयोध्यापुरीबाट ती अलर्क राजाका सन्तानहरू यत्र तत्र लागे । पछि राजा नान्यदेव एक दिन सरयूको तिरमा बसिरहेको बखत निद्राले ग्रस्त भई त्यही निदाएछन् र सपनामा एक सुन्दरी स्त्री आई “म तेरो पुर्खाको इष्ट देवता हूँ, सरयूका जलबाट झिक, म बसेको ठाउँमा भ्रमराहरूले छोपिराखेको होला” भनी गइछन् । अनि निद्राबाट बिउँझी ती नान्यदेवले सो ठाउँ पत्ता लगाई सो तामाको पेटारी किकी हेर्दा सो पेटारीमाथि यो श्लोक लेखेकी देखेः-
“रामो वेत्ति नलो वेत्ति वेत्ति राजा पुरुरवा ।
अलर्कस्य धनं प्राप्य नान्यदेवो भविष्यति ।”
अर्थात्, रामले जाने, नलले जाने, पुरुरवाले जाने, अलर्कको धन पाउने नान्यदेव नै हुनेछन् । अनि सो तामाको पेटारी खोली हेर्दा त्यहाँ भित्र पूजा पद्धतिको पुस्तक र एक सुनको बट्टा देखे। सुनको बट्टा पनि खोली हेर्दा त्यसभित्र तुलजा भवानीको सुनको यन्त्र देखि हर्षले खुशी भएर त्यही पद्धति बमोजिम भवानीको पूजा गर्न थाले। केही दिन पछि उनले भवानीको पूजा गरिरहेको बेलामा सो यन्त्रबाट “जनकपुरका समीपमा एक ठूलो जंगल छ मलाई त्यहीँ लैजाउ र वहाँ मेरो मन्दिर बनाउ तिम्रो भाग्य पनि त्यहीं प्रकाश हुनेछ” भन्ने वाणी निस्क्यो । अनि तुरुन्त यन्त्र मन्त्र पद्धतिहरू सबै अघिकै तामाको पेटारीमा हाली त्यस ठाउँबाट प्रस्थान गरी यथासमय भवानीले बताए झैँ जनकपुरनेरको जंगलमा पुगे। त्यस ठाउँमा जाँदा “कालो सर्पको सिकार बन्नुपर्छ” भनी धेरै जनाले मनाही गर्दा पनि नमानेर ती नान्यदेव सो घोर जंगल भित्र पसी एक ठूलो ढुङ्गा देखेर त्यसैमाथि बसे । रात परेपछि भवानीलाई सम्झी त्यहीँ माथि सुती निदाए । अनि स्वप्नामा अघि सरयूको तीरमा स्वप्नामा देखेको सुन्दरी आई “यो ढुङ्गामुनि एउटा खड्ग छ, त्यो खड्ग लिई हातले समाई जागा भै बस एक कालोसर्प “मणिधर नाग” आई मणि भुइँमा छोडी खेल्न जानेछ । सो मणि गोबरले छोपिदिनू र त्यो कालोसर्प तिमीमाथि आइलाग्ने छ तिनलाई त्यही खड्गले काटी शिरछेदन गरि देउ र यही ढुंगा मुनि द्रव्यले भरिएको सात इनार छ सो द्रव्य झिकी यहीं मेरो मन्दिर बनाई १२ मल्लारबाट तिम्रो स्वजात र प्रजा झिकाई देश बनाई राज्य गर” भनी गइन् । अनि निद्राबाट बिउझी झटपट सो ढुंगामुनि हेर्दा एक खड्ग हात पर्यो र सो खड्ग हातमा लिएर बसेको बखत एक कालो सर्प आई आफ्नो मणि भुइमा विसाई खेल्न गएको बखत नान्यदेवले गोबरले सो मणि छोपिदिए। तत्पश्चात सो सर्प आफूमाथि आई लागेको देखी आफ्नो हातको खड्गले त्यसको टाउको छेउन गरिदिए र सो टाउकोमा हेर्दा त्यसमाथि पनि सुनको अक्षरले पहिलेकै क्ष्लोक “रामो वेत्ति नलो वेत्ति” इत्यादि पेटारीमा लेखे बमोजिमकै श्लोक लेखिएको देखे । अनि भोलिपल्ट दिन व्याएपछि ढुंगामुनि खनी हेर्दा धनद्रव्यले भरिएको सात इनार फेला पर्न गयो र त्यसबाट धनद्रव्य झिकी १२ मल्लारबाट आफ्ना जातका र परजातका रैतीहरू झिकाई शहर बसाउने प्रबन्ध गरे ।
ती नान्यदेवकी एउटी सुसारेसित लङ्काको एक राक्षस बरावर आई विलास गर्न पल्केको रहेछ । एकदिन सो केटीले आफ्नो पति राक्षस सित “हाम्रा मालिकले शहर बसाउन खोजेका छन् कैले सिद्धिने होला” भनी सोध्दा सो राक्षसले “खै यस्तो चालले एक जुगमा पनि सकिँदैन । हामी जस्ताको हात परेको भए एक रातमा तयार हुन्थ्यो” भनी भन्दा “उसो भए म मेरो मालिकसित यो कुरा भनौं त ? आजसम्म तपाईसितको मेरो व्यवहार गुप्त नै छ । फेरि यो कुरा प्रकाश गर्दा के पर्ने होला” ! भनी सुसारेले भन्दा “त्यसमा केही पर्दैन, तिम्रो मालिक भन्दा म धेरै शक्तिशाली छु। बरू यो कुरा सुन्दा उनले मलाई स्वागत गर्नेछन्” भनी सो राक्षसले जवाफ दियो । त्यसपछि भोलिपल्ट त्यो केटी नान्यदेवकहाँ गई “रिसानी माफ भए म केही कुरा बिन्ति गरूँ कि ?” भनी बिन्ति गर्दा नान्यदेवको मन्जुरी पाई “म यहाँ आएदेखि एउटा लङ्काको राक्षससित रातो राती विहार गर्ने गरेको छु । सो राक्षसले एकचोटी हजुरसित भेटी हजुरको ईजाजत पाए एकै रातमा यो विशाल शहर बनाइदिने प्रतिज्ञा गरेका छन्” ।
सो कुरा सुनी सारै खुशी भै सो राक्षससँग भेट गर्दा सो राक्षसले आज सूर्य अस्ताएपछि भोलि सूर्य नउदाएसम्म कोही पनि घरबाट बाहिर ननिस्कनू भन्ने सबै प्रजालाई आदेश होस् र त्यो रातभरमा हजुरको शहर सिध्याईदिन्छु” भनी भन्दा नान्यदेवले सो कुरा मन्जुर गरी सोही वमोजिम गरे । अनि सो रातमा सो राक्षसले आफ्नो भाइ बन्धु सबैलाई ल्याई हारगुहार गरी शहर बनाउन थाली दक्षिण दिशामा समाप्त गर्ने गरेकोमा केही बनाउन बांकी हुँदैमा दिन व्याएछ र लाचारीसाथ त्यत्तिकैमा छाडी गए । भोलिपल्ट सबै प्रजा सहित नान्यदेव उठी हेर्दा ठूलो शहर देख्दा बहुतै खुशी भए । तर दक्षिणतिर केही बन्न बांकी भएको हुँदा सो शहरको नाम सिमरौनगढ भन्ने राखिदिए। यही सिमरौनगढ भित्र देवालय वनाई श्रीतुलजा भवानी राज गराई आफू पनि सिमरौनगढमा बसी श्रीतुलजा भवानीको आज्ञा मुताविक नान्यदेवले राज्य गरी अनेक सुखभोग गरी राज्य चलाई दर सन्तान समेतले राज्य गरी वसेका थिए। ती नान्यदेवका सन्तान हरसिंहदेवका पालामा दिल्लीका बादशाहले आक्रमण गर्न खोज्दा तुलजाबाट “यहाँ म्लेच्छ आउन लागे मलाई नराख, नेपालमा लैजाऊ अब उप्रान्त उहों बस्छु” भनी स्वप्न हुँदा राजाले अब के गर्ने भनी अन्योलमा परी ईश्वरीको नित्यपूजा गर्न जांदा “मलाई आजै नेपाल लैजाऊ” भन्ने यन्त्रबाट वाणी भयो । अनि तुरुन्त भवानीलाई बोकी नेपालतिर बाटो तताए । जङ्गलमा वास पर्दा विहान पशुबलि के गर्ने? भन्ने मनमा लिई सुत्दा सपनामा ” प्रातः कालमा जुन पशु भेटिएला उसको मलाई बलि दिनू’ भन्ने सपना भयो, नभन्दै भोलिपल्ट विहान सोही वासमा एउटा अर्ना राङ्गो भेटियो र “अब ज्यापूको हातबाट यसको शिर छेदन गराई बलि गराउँ कि ?” भनी यन्त्रसित सोध्दा “हुन्न” । “अहिले एउटा मान्छेलाई हेर्न पठाउनू, जसले पूर्वतिर चाक फर्काएर दिशा गरिरहेछ, त्यसैको हातबाट शिर छेदन गराई बलि गर्नू” भन्ने यन्त्रबाट आज्ञा भयो र सोही बमोजिम गरी ल्याएको मानिसको हातबाट शिर छेदन गराई वलि गरे र सो मानिसको हातबाट काटेको हुनाले त्यसलाई कसाही भन्ने जातको बनाए । अनि नित्य भोग अड्कन जाँदा ती ज्यापू मध्ये एउटालाई शुद्ध गराई भोक पकाउन लगाए र त्यसलाई सुवाल भन्ने जातको वनाए । अनि नेपाली संवत्, ४४४ (वि. सं. १३८१) सालमा ती राजा तुलजा सहित नेपालको भक्तपुरमा आई पुगे पछि त्यहाँका वैश्य ठकुरी राजा भीमकहाँ गई सबै कुरा बताउँदा सो राजा भोमले हरसिंहदेवलाई खुब स्वागत सत्कार गरी “भवानीको जहां इच्छा हुन्छ त्यहीं राज गराउनुहोस्” भनी भने । अनि हरसिंहदेवले “कहाँ मन्दिर बनाउँ” भन्ने मनमा लिई सुत्दा “यहाँ एउटा दक्षिणी ब्राह्मण अग्निहोत्री छन्, उनैको घर पवित्र छ, त्यही मेरो मन्दिर बनाउनू’ भन्ने स्वप्नमा भवानीको आज्ञा हुँदा सोही कुरा राजा भीमकहाँ बिन्ति पर्दा ती राजाले सो अग्निहोत्री ब्राह्मणलाई बोलाई “तिम्रो घरको सट्टा अर्को घर बनाइदिउँला द्रव्य पनि दिउँला भनी यताउति अनेक कुरा देखाई संझाउँदा पनि ती ब्राह्मणले नमान्दा पनि हरसिंहदेवले जवरजस्तीसाथ सो घरमा लगी भवानीलाई राज गराए । अनि सो ब्राह्मण खिन्न भई आपनो गला सेरिएर मरे । त्यसपछि “मलाई ब्रह्महत्या लाग्यो” भनी हरसिंहदेव अनशन बसेका बेलामा “ती ब्राह्मण गणेश हुन्, तिनको शिर अधि नै छेदन भई सकेको हुनाले तिमीलाई ब्रह्महत्या लाग्दैन । त्यसै ठाउँमा मन्दिर बनाई ढोकामा ती ब्राह्मणको लाश गाडी माथिबाट गणेश मूर्ति स्थापना गर” भन्ने ईश्वरीबाट आकाशवाणी भयो र सोही वमोजिम तो ब्राह्मणको घरमा मन्दिर बनाई मूलढोकामा ती ब्राह्मणको लास दवाई सो माथि गणेश मूर्ति राखी भवानीलाई विराजमान गराए । त्यस समयदेखि अद्यावधि सोही पद्धति बमोजिम पूजाआजा चलिरहेकै छ । वि. सं. १९९० सालमा ठूलो भँइचालो जांदा भादगाउँ शहर एक प्रकारले ध्वस्त भएको थियो। तर यो तलेजुको मन्दिर ज्यूँकात्यूँ रह्यो ।
( लेख : रथी धन शमशेर ज.ब.रा./ फोटो: सन्दीप सापकोटा)
#