Monday, March 9, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home कला/साहित्य

मातृभाषा परित्यागको पीडा

February 16, 2026
in कला/साहित्य

प्रा.डा. दानराज रेग्मी| काठमाडाैं
भाषा विचार आदानप्रदानको प्रमुख साधन हो । यसलाई मानिसले चाहेर पनि परित्याग गर्न सक्दैन । तर, घरपरिवारमा पुस्तौँदेखि बोलिँदै आएको पुख्र्यौली मातृभाषालाई भने परित्याग गरेका वा गर्न लागेका उदाहरण नेपालका थुप्रै जातीय र भाषिक समुदायमा स्पष्ट रूपमा देख्न सकिन्छ । यस्ता समुदायले आफ्नो मातृभाषा बिस्तारै–बिस्तारै बोल्न छाड्ने र अर्को भाषा बोल्न थाल्ने निर्णय किन गरे र कुन आधारमा गरे ? यी विषयमा विस्तृत अध्ययन भएको पाइँदैन । भाषिक अभियन्ता र भाषाविज्ञले प्रस्तुत गरेका केही कार्यपत्रमा  पञ्चायतकालीन भाषा नीतिलाई नै प्रमुख कारकको रूपमा उभ्याएको पाइन्छ । तर, त्यसलाई मात्र कारण मान्नु न्यायोचित नहुन सक्छ ।

०६८ को जनगणनामा मातृभाषाका रूपमा गणना गरिएका तिलुङ, कुसुन्डा, बराम, लिंखिम र सामजस्ता भाषा बुढापाकाबाहेक अरूले बोल्दैनन् । उनीहरूले पनि यी भाषा ज्यादै न्यून मात्रामा प्रयोग गरेको पाइन्छ । अझ दुरा भाषाका वक्ता भेटिएको अवस्था छैन । त्यस्तै कुमाल, छुलुङ, थकाली, दनुवार, दुमी, नाछेरिङ, फाङ्दुवाली, भुजेल, लाप्चा, हायु, सोनाहा र मुगा राईजस्ता भाषिक समुदायका मानिसले आफ्ना बालबालिकालाई ती भाषा प्रयोग गर्न सिकाउन प्रयास गरेको पाइँदैन । यी भाषाका वक्ता क्रमशः नेपाली भाषातिर अपसरित हुँदै गएका छन् । यसको सोझो अर्थ हो– यी भाषा लोप हुदैँ गइरहेका छन् ।

प्राणजस्तै प्यारो आफ्नो भाषा लोप हुन गइरहेकोमा कोही पनि खुसी छैनन् । भाषा लोप भएकोमा उनीहरूमा पीडा छ । नेपालका भाषाको सामाजिक÷भाषिक सर्वेक्षणका प्रतिवेदनले पनि यस्तो इंगित गरेका छन् । तर, यस्तो समस्याको समाधान कसरी गर्ने भन्नेबारे कुनै पनि समुदाय गम्भीर रूपमा चिन्तित भएको देखिँदैन । उनीहरू ती भाषालाई सबल प्रयोगमा ल्याउन सकिनेमा खासै आशावादी देखिँदैनन् । प्रजातन्त्रको पुनस्र्थापनापछि देशले बहुभाषिक नीति अवलम्बन गरी सबै मातृभाषालाई समानरूपमा राष्ट्रभाषा मान्दा पनि यस्तो दुःखदायी अवस्था कसरी सिर्जना भयो ? यसबारे सम्बन्धित निकायले राम्रोसँग सोचेको पाइँदैन ।

वर्तमान विगतको परिणति हो भन्ने भनाइ भाषाको हकमा पनि लागू हुन्छ । भाषा जन्मन र हुर्कन निकै समय लाग्छ, तर लोप हुन लामो समय लाग्दैन । तैपनि भाषा लोप हुनुका कारण इतिहासका उदाहरणलाई आधार मानेर खोतल्न सकिन्छ । ००७ सालभन्दा अगाडिसम्म एक भाषिक समुदायको अर्को भाषिक समुदायसँग लामो समयसम्म सम्पर्क बिरलै हुने गथ्र्यो । कुनै भाषिक समुदायको अन्य भाषिक समुदायसँग केही मात्रामा सम्पर्क भए पनि उनीहरूबीच अन्तरक्रिया न्यून मात्रमा हुन्थ्यो । घरपरिवारमा पुस्तौँदेखि बोलिँदै आएको भाषा सबै उमेर समूहकाले बोल्थे । औपचारिक शिक्षाको विकास भएको थिएन । आधुनिक यातयात र सञ्चारका साधनबाट मानिस विमुख थिए ।

दुरा, कुसुन्डा, थकाली, मुगा राईजस्ता भाषा लेखन प्रणालीमा नआए पनि बोलीचालीमा भने सबल थिए । गणनादेखि हाँसो, ठट्टा, मायाप्रीति मात्र होइन, गाउँको भेलामा पनि यी भाषा प्रयोग हुन्थे । तर, आज यो अवस्था नेपालका धेरै भाषिक समुदायमा छैन । आज नेपालका १ सय २३ भाषा मध्ये ५६ प्रतिशतभन्दा बढी भाषा लोपोन्मुख अवस्थामा छन् । धेरै भाषा खासै बोलिन्नन् । सीमान्तकृत धेरै भाषिक समुदायले आफ्नो भाषा नबोली बृहत् सञ्चारको भाषा प्रयोग गर्न लागिरहेका छन् । उत्तरी भेगका मानिस स्थानीय तहमा बोलीचालीमा सरल तिब्बती र गुम्बा शिक्षामा परम्परागत तिब्बती भाषा प्रयोग गरिरहेका छन् । त्यस्तैगरी, तराई भेगमा मैथिलीप्रभावित क्षेत्रमा मैथिली वा यसका भाषिका प्रयोग भइरहेका छन् भने भोजपुरीको प्रभाव रहेका क्षेत्रमा भोजपुरीमा सीमान्तकृत भाषिक समुदाय अपसरित भइसकेका छन् ।

मध्यपूर्वी थारूको व्याकरण मैथिलीको व्याकरणभन्दा फरक छैन । त्यस्तै, चितौनिया थारूको व्याकरण भोजपुरीसँग मिल्छ भने राना थारूको भाषा हिन्दी र अवधी भाषासँग मेल खान्छ । अवधीभाषीले औपचारिक समारोहमा हिन्दी प्रयोग गरेको पाइन्छ । केही भाषा मृतप्रायः नै भइसकेका छन् । मध्यपहाडी खण्डका सीमान्तकृत भाषिक समुदाय नेपाली भाषामा अपसरित भइरहेका छन् । २० वर्षअघिसम्म राम्रोसँग बोलिने भाषा अहिले केही बुढाबुढीले मात्र, त्यो पनि कहिलेकाहीँ बोलेको पाइन्छ । यो प्रवृत्ति दिन–प्रतिदिन बढ्दो छ । एउटा भाषा लोप हुँदा भाषासँगको ज्ञान पनि लोप हुन्छ । भाषाको पर्यावरणमा यसले असर त पार्छ नै, यसले ज्ञानको पर्यावरणमा पनि असर गर्छ । यो सबै मानवजातिका लागि दुःखदायी विषय हो । मानवजातिले आर्जेको ज्ञान अंग्रेजी, हिन्दी वा नेपालीमा अभिलेखीकरण गर्न सकिन्छ भन्नु सत्य कुरा होइन । भुजेल भाषामा पाइने बाँस कटाइका आठ प्रकारलाई नेपाली, अंग्रेजी वा कुनै भाषामा अनुवाद गर्न सकिँदैन ।

अहिले परिस्थिति यस्तो भइसकेको छ कि एकभाषी समाज त के एकभाषी व्यक्ति मात्रै पनि भेटाउन गाह्रो छ । रोजगारी र शिक्षाका लागि मानिसको बसाइँसराइ तीव्र गतिमा भइरहेको छ । विभिन्न भाषा वा भाषिका बोल्नेको बीचमा अन्तरक्रिया तीव्र रूपमा भइरहेको छ । यसलाई कसैले चाहेर पनि रोक्न सक्ने स्थति छैन । संविधानमा सरकारी कामकाजको भाषा नेपाली हुनेछ भनी किटेर लेखे पनि  सरकारी र अर्धसरकारी निकायमा विनारोकतोक अंग्रेजीको प्रयोग भइरहेको छ । यही क्रम जारी हुने हो भने अघोषित रूपमा अंग्रेजी वैकल्पिक सरकारी कामकाज भाषा हुन के बेर ? संसारमा नीति बनाएर भाषा प्रयोग गरेको देखिँदैन । प्रयोगको तीव्रताले नै नीति बनाउने दबाब परेको पाइन्छ । व्यावहारिक रूपमा सरकारले बहुलतामा आधारित भाषा नीति तय गर्न सकेको छैन । नीतिगत कारणले भाषा लोप हुनमा प्रमुख भूमिका खेलेको हुन्छ । तर, यो मात्र कारण पक्कै होइन ।

मानिसले अरू विभिन्न कारणले मातृभाषा त्याग गर्दै गएको पाइन्छ । त्यस्ता कारणलाई भौगोलिक अवस्था, सामाजिक तथा आर्थिक परिस्थतिले प्रभाव पारेका हुन्छन् । अझ यस्ता कारणलाई भाषाप्रतिको वैचारिक मान्यता वा विचारधाराले पनि प्रभाव पारेको हुन्छ । नेपालमा भूकम्प, बाढी पहिरोजस्ता प्राकृतिक विपत्तिले पनि भाषिक समुदायले आफ्नो थातथलो छाडेका छन् । यसरी बाध्यात्मक अवस्थामा अन्य ठाउँमा बसाइँ–सराइ गर्दा मातृभाषा पनि बिस्तारै त्यागेको पनि पाइन्छ । माथिल्लो मुस्ताङको लोमान्थाङको पूर्व–उत्तरमा रहेको गाउँमा वातावरणीय प्रभावका कारणले पानीको अभाव भएपछि त्यहाँका लोवाभाषी अरू ठाउँमा सरे । यसरी बसाइँसराइ गर्दा उनीहरूले मातृभाषा लोवा त्याग्दै ठाउँअनुसारको भाषा बोल्न थालेको अवस्था छ । माओवादी सशस्त्र युद्धका वेलामा धेरै मातृभाषी गाउँ छाडेर तराई र सहरी क्षेत्रमा बस्न बाध्य भए । उनीहरूले पनि स्थानअनुसारका भाषा बोल्न थाले । आफ्नो मातृभाषा वा भाषिका क्रमशः त्याग गर्दै गएको पाइन्छ । यस्तो प्रभावका बारेमा विस्तृत अध्ययन जरुरी छ ।

के कारणले गर्दा धनकुटाका मुगा गाउँका राईले मुगा राई भाषा बोल्न छाडे ? कुसुन्डा भाषा किन लोप भयो ? दुरा भाषाका वक्ता किन भेटिन्नन् ?  अब यस्ता प्रश्न अनुत्तरित रहिरहनुहुन्न । नेपालमा अल्पसंख्यक भाषिक समुदायले मातृभाषा कहिले बाध्यात्मक रूपमा, कहिले समझदारीका आधारमा र कहिले राजीखुसी त्यागेको दृष्टान्त भेटिन्छन् । करिब १५ सयको हाराहारीमा रहेका मुगा राईले हाँसीखुसी भाषा बोल्न छाडेका होइनन् । अल्पसंख्यक भएकाले बिहाबारी अन्य भाषिक समुदायसँग लगभग बाध्यात्मक रूपमा हुने परिस्थति सिर्जना भयो । बाबु र आमाबीचमा मुगा राई भाषामा कुरा हुन नसक्ने भएपछि साना बालबालिकाले कोबाट भाषा सिक्ने ?

क्षेत्रगत अध्ययनको क्रममा एक युवकले दुःखेसो पोखेका थिए, ‘न घरमा बाबु आमाले मातृभाषा बोल्छन्, न विद्यालयमा पढाइन्छ, न त स्थानीय समाचार माध्यमले यो भाषा नै प्रयोग गर्छन्, अनि हामीले कसरी त्यो भाषामा आफ्नो दक्षता बढाउने ?’ उनले थपे, ‘विद्यालयमा नेपाली, समाचारमा नेपाली, अड्डा–अदालतमा नेपाली, जागिरमा नेपाली भएपछि हाम्रो समुदायले बाध्य भएर नै मुगा राई बोल्न छाडेको हो, एक–दुईजनाले बोल्न जाने पनि सुनेर बुझ्ने मानिस नै छैनन् ।’ यस्तो छ, भाषा त्याग गर्नुपर्ने बाध्यात्मक परिस्थति । कुसुन्डाभाषीको वंश नै लोप भएको कदापि होइन ।

एउटा भाषा लोप हुँदा भाषासँगको ज्ञान पनि लोप हुन्छ । भाषाको पर्यावरणमा यसले असर त पार्छ नै, यसले ज्ञानको पर्यावरणमा पनि असर गर्छ । यो सबै मानवजातिका लागि दुःखदायी विषय हो । मानव जातिले आर्जेको ज्ञान अंग्रेजी, हिन्दी वा नेपालीमा अभिलेखीकरण गर्न सकिन्छ भन्ने सोच सत्य होइन ।

सत्य के हो भने बहुसंख्यक समुदायको रीतिथिति, चालचलन र दैनिक व्यवहारभन्दा फरक अवस्थामा घुमन्ते जीवन बिताउने कुसुन्डाले बाँच्नका लागि स्थान परिवर्तन गर्दै अन्य भाषिक समुदायका मानिसको संसर्गमा आए । क्रमशः अन्य जातिका मानिससँग बिहाबारी हुँदै गयो । कुसुन्डा भाषा नबोल्ने बाबु र आमाबाट स–साना नानीले कुसुन्डा भाषा सिक्ने अवस्थै रहेन । उनीहरू मूल संस्कृतिमा विलय हुँदै गए । यसरी भाषिक समुदायको कम जनसंख्या नै भाषा त्याग गर्ने बाध्यात्मक कारण बन्न पुग्यो ।

दुरा भाषा बोल्न नजाने पनि दुरा जातिको आफ्नै पहिचान छ ।  उनीहरू त्यो पहिचानका लागि थप लडिरहेका छन् । स्नातकोत्तर तहको शोधलेखनदेखि दुरा भाषाको सेवामा लागेका मुक्तिप्रसाद घिमिरेले आफूले जानेका शब्द दुरालाई सिकाउँदै छन् । विदेशी सेनामा भर्ती हुने क्रममा थुप्रै दुराले आफ्नो थर गुरुङ लेखाएको गाउँघरका मानिससँग बातचित गर्दा थाहा हुन्छ । नेपालको उत्तरी भेगमा बसोवास गर्ने अल्पसंख्यक मानिसले स्थानीय भाषामा रहेको नाम लेखाउँदा नेपालीभाषी कर्मचारीले हिज्जेमा एकरूपता कायम गर्न नसकेकाले नागरिकताको थरमा गुरुङ र मूल नाम प्रचलित नेपाली भाषामा राखेका उदाहरण प्रशस्तै छन् ।

उनीहरूमा बीचको नाम बहादुर राख्ने प्रचलन पनि यसरी नै चलेको हो । उनीहरूले बोल्ने भाषा मूल गुरूङ भाषाभन्दा बिल्कुलै फरक भए पनि थर अझै पनि गुरुङ नै लेखाइएको पाइन्छ । नेपालमा सरकारी कामकाजको भाषा नेपाली भए पनि अंग्रेजीको व्यापक प्रयोगलाई कसैले चाहेर पनि रोक्न सक्ने स्थति छैन । सरकार देशभित्र रोजगारीको अवसर दिन सक्ने अवस्थामा देखिँदैन । सयौँ युवा रोजगारीका लागि दक्षिण कोरिया, जापान, मलेसिया र खाडी मुलुक जान बाध्य छन् । त्यसैले युवायुवती मरीमरी कोरियन, जापानी र अरेबिक भाषा सिकिरहेका छन् । उनीहरूका लागि अंग्रेजी पनि त्यति महत्वको बनिरहेको छ । वैदेशिक रोजगारका लागि भाषा अनिवार्य नै हो । नेपाली भाषाप्रति बेमातृभाषीको त्यति सकरात्मक दृष्टिकोण रहेको पाइँदैन । केही भाषिक अभियन्ताले त नेपालीलाई पीडक भाषाको रूपमा लिएको पाइन्छ । तैपनि विद्यालय तहमा नेपाली भाषाको पठनपाठनप्रति ठूलो विमति राखेको भने पाइँदैन । स्थानीय भाषामा बोल्दा सबै स्रोताले बुझ्न सक्दैनन् वा स्थानीय भाषामा आफूले भन्न चाहेको कुरा प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिँदैन । यस्तै मनोभावले गर्दा अवधी भाषिक क्षेत्रमा हिन्दी प्रयोग भएको पाइन्छ ।

थकाली समुदायको कथा अझ रोचक छ । थकाली अहिले नेपालीमा लगभग अपसरित भइसकेका छन् । थकालीले आफूलाई व्यावसायिक रूपमा सफल समुदाय स्थापित गरेपछि राणासँग सम्पर्क हुँदै गयो । आधारभूत परम्परालाई कायमै राखे पनि भोटे भनिएला भन्ने मनोभावले वेशभूषा र बिस्तारै भाषा त्याग गर्दै गएको कुरा थकाली बुजु्रग अहिले पनि बताउँछन् । यो अवस्था नेवार समुदायमा पनि लागू हुन्छ ।

यो एकप्रकारको समझदारीका आधारमा मातृभाषालाई त्याग गर्दै वा महत्व  नदिँदै अन्य भाषातिर जान लागेको वा गएको अवस्था हो । एउटै भाषाका विभिन्न भाषिका बोल्ने पनि एक–आपसमा भेट हुँदा स्तरीकृत भाषिका बोल्ने गरेको पाइन्छ । पश्चिमी नेपालमा बोलिने डोटेली भाषिका र पूर्वी नेपालको भाषिकाबीच वार्तालाप हुँदा स्तरीकृत नेपालीमा गरेको पाइन्छ । यसले गर्दा क्रमशः स्थानीय भाषिका लोप हुँदै छन् । जे–जस्ता कारणले भए पनि मातृभाषा प्रयोग गर्न आकर्षित नहुनु भाषा लोप हुनुको प्रमुख कारण हो । बोलिएन भने भाषा मर्छ, बोल्न प्रोत्साहन भएन भने पनि भाषा मर्छ । नेपालका अल्पसंख्यक भाषिक समुदायका भाषा कसरी बचाउन सकिन्छ भन्ने विषयमा भाषा आयोगजस्तो निकायले पनि स्पष्ट धारणा ल्याउन सकेको छैन । राउटे भाषाको कक्षा सञ्चालन गरेको समाचार आएको थियो । पढ्दैमा भाषा बाँच्ने भए संस्कृत भाषाको प्रयोग व्यापक भइसक्नुपर्ने थियो । संस्कृत किन अध्ययन र कर्मकाण्डमा सीमित हुन पुग्यो ? अध्ययन गर्दैमा भाषा संरक्षण हुने भए नेपालका लगभग सबैजसो भाषामा केही न केही काम भएको छ, र हुँदै छ ।

सबैभन्दा महत्वपूर्ण पक्ष भनेको भाषा बोल्न प्रोत्साहन गर्नु हो । प्रोत्साहन वस्तुगत हुनुपर्छ । भाषा संरक्षणका कार्यक्रमलाई अन्य विकास निर्माणका कार्यसँग एकीकृत रूपमा कार्यान्वयन गर्नुपर्छ । यसका लागि विभिन्न मोडेल छन् । नेपालको परिप्रेक्ष्यमा कुन मोडेल उपयुक्त हुन्छ, विचार–विमर्श गर्नुपर्छ । यसका लागि सर्वप्रथम बहुलतामा आधारित बहुभाषिक नीति तुरुन्तै तय गरिनुपर्छ । सबैभन्दा पहिले स्वतन्त्र भाषिक गणना हुनुपर्छ । नया पत्रिकाबाट

(रेग्मी भाषाविज्ञान केन्द्रीय विभागका प्राध्यापक हुन्)

ShareTweet

Related Posts

एभरेष्ट टेलिभिजन नेटवर्क

गीताको सेमुक्ति सार्वजानिक

February 15, 2026 Everest News समाचार 0 ३ फाल्गुन, काठमाण्डौँ । विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली तथा मातृभाषा गीत–सङ्गीत क्षेत्रमा निरन्तर सक्रिय...

February 18, 2026
‘सुम्जो इङ्जुम नु सुम्जोहा’ सार्वजनिक
एभरेष्ट टेलिभिजन नेटवर्क

‘सुम्जो इङ्जुम नु सुम्जोहा’ सार्वजनिक

पुष ५, काठमाण्डौँ । याक्थुङ (लिम्बू) भाषाका साहित्यकार निशेष आङदेम्बेको निबन्धमाथिको सैद्धान्तिक अध्ययन तथा सम्पादन कृति ‘सुम्जो इङ्जुम नु सुम्जोहा’...

December 20, 2025
ब्याकुल माइलाको मातृभाषामा देशभक्ति
एभरेष्ट टेलिभिजन नेटवर्क

ब्याकुल माइलाको मातृभाषामा देशभक्ति

भदौ ८, काठमाण्डौँ । राष्ट्रियगान सर्जक व्याकुल माइलाको रचनामा आम च्यामाखा नेपाल (यो पृथ्वी नै नेपाल) वाम्बुले मातृभाषा पनि राष्ट्रिय...

September 22, 2025
सबै भाषाको साझा थलो बन्दै प्रतिष्ठान
एभरेष्ट टेलिभिजन नेटवर्क

सबै भाषाको साझा थलो बन्दै प्रतिष्ठान

४ भदौ, काठमाण्डौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आदिवासी जनजातिहरूको छुट्टै मन्त्रालय र विश्व विद्यालय हुनुपर्ने...

August 23, 2025
Next Post

मेयरलाई ३० लाख क्षतिपूर्ति, घाइतेले गोली निकालेको खर्च पनि पाएनन्

विगेसोको सिङ्गापुर शाखा गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In