जापानको ओसाका सहरको खानेपानी विभागले २१ किलोग्राम सुन दान स्वरूप प्राप्त गरेको छ।
ओसाका महानगरपालिकाका अनुसार उक्त सुनको बजार मूल्य करिब ५६ करोड ६५ लाख ४० हजार जापानी येन बराबर रहेको छ। यो बहुमूल्य दान गर्ने व्यक्तिले सहरका पुराना भएका खानेपानीका पाइपहरू मर्मत र सुधारका लागि यो रकम प्रयोग होस् भन्ने इच्छा राखेका छन्।
ओसाकाका मेयर हिदेयुकी योकोयामाले यति ठूलो परिमाणको सहयोग प्राप्त हुनु अचम्मको विषय भएको भन्दै दाताप्रति आभार व्यक्त गरे। उनले सहरको खानेपानी पूर्वाधार सुधारमा ठूलो लगानी आवश्यक पर्ने भएकाले यो सहयोग निकै महत्वपूर्ण हुने बताए। मेयरले ठट्टा गर्दै आफूले २१ केजी सुन कस्तो हुन्छ भनेर एकपटक समातेर हेर्न चाहेको समेत उल्लेख गरे।
यो रकमलाई प्राथमिकताका साथ सहरको खानेपानी प्रणाली सुरक्षित बनाउने काममा खर्च गरिने विभागले जनाएको छ।






