Tuesday, May 26, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home Uncategorized

मुक्कुम्लुङ्मा हो पाथीभरा पनि हो

October 21, 2024
in Uncategorized

!लिम्बुवान कै प्रसिद्घ धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक स्थल ‘मुक्कुमलुङ्मा’को नामका बारेमा व्यापक बहस उठेको छ, भनौं या ‘पाथीभरा’को बारेमा ब्यापक बहस उठेको छ । एकाथरि समुह पाथीभरा भन्न चाहन्छन । अर्कोथरि समुह मुक्कुम्लुङमा भन्न चाहन्छन । अझ भन्नु पर्दा एकाथरि समुह मुक्कुम्लुङमा सुन्न नै चाहदैनन् भने अर्कोथरि समुह पाथीभरा सुन्न नै चाहदैनन् । यसमा बुझ्नै पर्ने प्रसंग जोडिएको विषय भनेको केवुलकार हो । यहाँ केवुलकार बनाउनु पर्छ, केवुलकार बनाउनु हुँदैन भन्ने बहस चरम उत्कर्षमा पुगेको आभाष भएको अनुमान गर्न सकिन्छ । त्यसैको सेरोफेराेमा केहीदिन अघि एउटा फेसबुक स्टाटस लेखेको थिए । ‘केवुलकार ! बन्नै पर्छ । बन्नै हुन्न । भन्ने दुवै खाले अतिवादहरु निन्दनीय छ ।’ अर्थात विकासलाई अतिक्रमणवादी मान्ने अनि संस्कार, संस्कृति र आस्थाको विषय उठाउँदा यथास्थितीवादी हुने भाष्य नै गलत छ । भौतिक विकास मानवजातिको असिमति भोग ईच्छाको प्रतिकका रुपमा रहन्छ भने संस्कार, संस्कृति र आस्थाका कुरा मानवजातिको भावनासँग जोडिएको हुन्छ । यो दुवैलाई समयोचित सम्बोधन गरेर जानु नै हामी सबैको लागि आजको प्रमुख दायित्व हुनेछ । आज यहाँ केवुलकार निर्माणभन्दा अलग्गै रहेर पाथीभरा कि मुक्कुम्लुङ्मा? त्यस्मा पनि पाथीभराको चर्चा महिमा यत्रतत्र भईसकेपछि मुक्कुम्लुङ्माको बहस किन? के साँच्चीकै औचित्यहिन बहस याक्थुङ लिम्बुसमुदायले गरिरहेकाछन त?! जस्ता प्रश्नहरुको सेराेफेराेमा केही आधारहरुको टिप्पणी नोटहरु यहाँ प्रस्तुत गरिएको छ । ‘मुक्कुमलुङ्मा’ बारेमा : राजेश्वर थापा (२०७४) अनुसार ‘मुक्कुम’ भनेको स्थानीय भाषामा ‘शक्ति’ या ‘बल’ र ‘लुङ’ भनेको सामान्यतः ‘ढुङ्गा’ या चट्टानहरुको माला या सृङ्खला भएकोले शक्तिदायक पहाड सृङ्खला हो । युमा साम्माङको वासस्थान” भनेर उल्लेख भएको पाईन्छ । “मुक्कुमलुङ्मा भनेको शक्तिशाली स्त्री रुप हुन”, उनले ‘मुन्धुममा मुक्कुमलुङ्माको कथा’मा तेज बहादुर फागो पन्धाक संकलित ‘सावा येत्हाङ मुन्धुम’लाई आधार मानेर मुजिङ्ना खेयङ्ना, उनका छोरा सुसुवेङ् लालावेङ्ले थोसुलुङ्मा फियाम्लुङ्मा, योसुलुङ्मा मुक्कुमलुङ्मासंगका विवाह र मृत्यसम्मका आख्यानहरु उल्लेख गरेकाछन । लक्ष्मण मेन्याङ्बो (२०६२) संकलित ‘याक्थुङ मुन्धुम’लाई आधार मानेर मुक्कुमलुङ्मा सिसा वेन्छिङ नाःहेन् पोःक्मा (स्त्रीहरुमा आँखीडाही), तिङदिङ नाहेन् इःङ्मा मुन्धुम (आँखीडाही मन्साउने मुन्धुम), तङ्सिङ्मा युमा इङदत् नाःक्मा चवेक् (तङसिङमा युमाको पुकारा), येगेसिङ्मा पफेःङ्सिङ्मा (आङमा गुरुहरु, पुज्यनीय गुरुहरु र जलथलका देवहरुको नाम पुकार्ने) र मुन्धक्मा मुन्धुममा मुक्कुम्लुङ्मा आउने उल्लेख गर्नु भएको छ । उहाँको निष्कर्ष छ, युमा धर्मले आआफ्नो ढङ्गले वर्णन गरेका देवीहरुको त्रिडास्थल, लीला प्रदर्शन स्थल, निक्कै फराक तथा विशाल वन, पर्वत सृङ्खलामा भएको र त्यस्तो फराक तथा विशाल वन पर्वत सृङ्खला यस द्विपमा यही पाथीभरा पर्वत क्षेत्र देखिएकोले लिम्बूहरुको महादेवी युमा साम्माङको वासस्थान यहि क्षेत्र हो भन्न सकिन्छ । अर्जुनबाबु माबोहाङ (२०७७) ले ‘पाथीभरा होइन मुक्तिफाेमाङ्’ लेख लेखि पाथीभरा डाँडोको नाम ‘सेमुक्तु मुक्तुकोक्मा’ उल्लेख गरेका छन । हज्सन पाण्डुलिपिको खण्ड ८६ को पत्रमा सिरिजंगाले सिरिजंगा लिपीमा लेखेको कुरा लिप्यान्तर गरेका छन । यसमा उने पाथीभराको मुन्धुमी नाम ‘मुक्तिफाेमाङ’ पुष्टि हुन्छ भनि लेखेका छन । तर तिल विक्रम नेम्बाङ (२०२१) का अनुसार माबोहाङले आधार मानेको लेखोट खण्ड ८६ नभई फाेलियो २(द) हो र यो सिरिजंगाले लेखेको नभई श्रीफुङ भन्ने व्यक्तिले लेखेका हुन भनेर लिप्यान्तर गरेका छन । प्रा डा रमेश ढुङ्गेलका अनुसार हज्सन पाण्डुलिपिको भो. ८६ भित्रको फाेलियो २ (ब), २ (द), ३ (ब,द), ४ (ब,द), र ५ (ब,द) मध्ये २ (द) पृष्ट हो र त्यसमा लेखिएको ११ हरफ मध्ये ७ औं हरफको अन्तिम दुई शब्द ‘मुक्ति पो’ र आठौं हरफको पहिलो शब्द ‘माङ’ उल्लेख भएको बताएका छन । यसलाई ‘मुक्तिफाेमाङ’ भनेको भन्नु युक्तिसंगत नहुने निस्कर्ष रहन्छ भने ‘मुक्तिफाेमाङ’ भनेको पाथीभरा नै हो भन्ने पुष्टि पनि हुँदैन । यसो भन्दै गर्दा हज्सन सामाग्रीमा ‘मुक्कुमलुङमा’ शब्द नै छैन भन्नु तथ्य विपरित हुन जान्छ भनेर तिल विक्रम नेम्बाङले बताएका छन । उनका अनुसार हज्सन पाण्डुलिपिको (भो. ८४ पृष्ट ११२, याक्थुं हां मुधुं, वस्ता लं. ५, २६/५) को हरफ १०–११ मा ‘फियाङ्लुङ्मा’ पछि ‘मुक्कुमलुङ्मा’को उल्लेख छ भनि बताएका छन । दिलेन्द्र कुरुम्बाङ (२०७८) ले ‘पाथीभरामा निसासिएको मुक्कुम्लुङ्माको पहिचान’ लेख लेखर मुक्कुम्लुङ्मा उत्पत्ति बारेको कथा, रैथाने याक्थुङ मिथक, मुक्कुम्लुङ नामको ईतिहास, मुक्कुमलुङ र मुक्कुम्लुङमाको अन्तर, आन्तरिक आप्रवासनले मेटिएको स्थाननाम, मुक्कुमलुङ पुन स्थापनाको पहल, साँस्कृतिक र प्राकृतिक सम्पदा जोगाउन के गर्ने भन्ने उल्लेख गरेका छन । मुक्कुमलुङ उत्पत्ति बारेको कथामा भेडी गोठलाले भेडा हराएको, सपनामा एकजना स्त्री आएर त्यस डाँडोमा फाेहोर गर्‍यौं भनेको, बिउँझिएपछि भेडा भाकल गरेपछि हराएका भेडाहरु फेला परेको र त्यसपछि यहाँ पुजा गर्न थालिएको प्रसंग उल्लेख छ । रैथाने मिथक अनुसार मुक्कुम्लुङमा डाँडोमा देखा पर्ने र अनेक लीला गर्ने देवी युमा हुन भन्ने याक्थुङ समुदायको विश्वास रहेको, मुक्कुम्लुङलाई याक्थुङ पुरोहित फेदाङ्मा, साम्बा, येवाहरुले मुन्धुम फलाक्दा मुक्कुम्लुङ माङ, सेमुक्तु मुक्तुबोमाङ, सेमुक्तु मुक्तुबुङ, मुक्तिगोक, चेप्लेगोःक्, मुक्तिपफेमाङ आदि नामले पुकार्ने गरेको उल्लेख गरेका छन । मुक्कुम्लुङमा अहिले पुजा गर्ने गरेको थानको पछाडि भिरमा रहेको, मुल थान ढुङ्गाको भएकोले त्यसैको आधारमा यसको नाम मुक्कुमलुङमा रहन गएको तर्क गरेका छन । ढुङ्गा ‘लुङ’ र याक्थुङ लिम्बू समुदाय : नेपालका स्थाननामका तिब्बत–बर्मेली भाषा परिवार र भारोपेली भाषा परिवार दुई प्रकारमा विभाजित गर्न सकिन्छ । तिब्बत बर्मेली भाषा परिवारमा ‘लुङ’ शब्दको अर्थ ढुङ्गा (लुङ), मुटु (लुङ्मा), माया–प्रेम (लुङ्माईः) गर्भ (सालुङ) र पहाड–पर्वत हिमाल (पफ्क्ताङलुङ, सेन्छेलुङ, वधिःनलुङ, सेवालुङ, केवालुङ) लगायत हुन्छ । याक्थुङ (लिम्बु) भाषा, बुझाई र जीवनमा सृष्टिको शुभारम्भ लुङ (सिमिक्लुङ र नावालुङ–चइत्लुङ) बाट हुन्छ । मानिसको सृष्टि वा जन्म पनि ‘लुङ’ बाट हुन्छ अर्थात गर्भ (आबु सारुङ वा सालुङ) ढुङ्गा बाटै हुन्छ । मानिस जन्मेपछि उसको बसाई समाज (चुम्लुङ)मा रहन्छ । परिवार र समाजमा रहँदा उसले एकापसमा माया–प्रेम (लुङ्मा तुक्सिङ) सहित माया–प्रेम कै डोरो (लुङमाइः) मा बाँधिएर वा बेरिएर रहन्छ । उसलाई संरक्षण र संवर्द्घन गर्ने पनि ढुङ्गा (आप्लुङ) नै हो । उसले खेल्ने खेल छेलो (पक्लुङ) पनि ढुङ्गा नै हो । उनले जीवनमा तान बुन्ने वा अडयाउने साधन (थाक्पेलुङ र खिवेलुङ) पनि उहि ढुङ्गा नेै हो । उसले बाँच्दा र हरेक काम कुरा गर्दा उसको अन्तिम उद्देश्य सिद्घिस्थलको ढुङ्गा चोत्लुङ मा पुग्नु वा त्यसलाई छिचोल्नु रहन्छ । उसको मृत्युपछि पनि ढुङ्गा माटोमुनी समाधिस्त गरेर एक मृतकको चिहानको चिनो ढुङ्गा सुत्लुङ गाढी राखिन्छ । यसर्थ याक्थुङ अर्थात लिम्बुजनको लागि ‘लुङ’ उस्को सारा संसार वा समग्र संसारिक जीवन हो । ‘मुक्कुम्लुङमा’ कसरी मुन्धुमीस्थल? मुन्धुममा मुक्कुमलुङ्माको प्रसंग आउँदा याक्थुङ जातिको मुन्धुमले विश्व ब्रमाण्डको उत्पत्ति, चराचरको उत्पत्ति, मानव उन्पत्ति, समाज विकास संस्कार र संस्कृति स्थापना अन्तर निहित छन । मुन्धुमले याक्थुङ जातिको धर्म, दर्शन, संस्कृति, समाज , अर्थ राजनीति जस्ता पक्षलाइई दिशा निर्देश गर्दछ । मुन्धुमको प्रकाण्ड मध्ये नावाचइःत मुन्धुम अर्थात सृष्टि मुन्धुम हो । मुन्धुमको क्रममा ईक्सा खाम्बेक पोःङमा मुन्धुम अर्थात ब्रमाण्ड र पृथ्वीको उत्पत्तिको मुन्धुममा मुक्कुम्लुङमा पहाडको उत्पत्ति अरु हिमाल पहाडको उत्पत्ति हुने क्रममा सँगसगै भएको वर्णन पाईन्छ । ताप्लेजुङको अम्बिटारमा फेदङ्मा सङ्जुम्भोको आयोजनामा भएको तीनराते तङसिङमा साम्बाहरुले ताद्यम्मा गरेको मुन्धुम जसराज लिम्बु पन्धाकले संकलन गर्नुभएको ‘मुजोक्लुङ खाजोक्लुङ मुन्धुम’मा मुक्कुम्लुङमाको उत्पत्ति वर्णन पाईन्छ । उक्त तङसिङमा साम्बाहरु भिम बहादुर लिबाङ, बिर्ख बहादुर वनेम र रन्धोज सेरेङको सहभागिता थियो । (मुन्धुमको भावानुवाद : याम्भामि पोरोक्मीले आफ्नो बहुली झट्कार्दा सिनाहिक भयो, सिनाहिकबाट सियेङ्घा निस्कियो, सियेङघाले थेयेङ्घा जन्मायो, थेयेङ्घाले सिखुरुङ निकाल्यो, सिखुरुङले वखुरुङ निकाल्यो, वखुरुङले पारुङ मारुङ जन्मायो, पारुङ मारुङले ताम्बिःलुङ सुयोलुङ र तिनले वयालुङ चोजिलुङ जन्मायो । फेरि ताम्बिःलुङ सुयोलुङले थोसुलुङ्मा पिफ्याम्लुङ्मा, योसुलुङ्मा मुक्कुम्लुङ्मा जन्मायो ।) वैरागी काईला संकलित चइःत मुन्धुम (२०६०) मा सृष्टि मुन्धुम मध्ये नावा चइःत् अर्थात सृष्टि वर्णन अन्तरगत ब्रमाण्ड र पृथ्वीको उत्पत्तिको मुन्धुममा अनगिन्ती हिमाल पहाड उत्पत्ति हुँदा मुक्कुम्लुङमा पनि उत्पत्ति भएको वर्णन पाईन्छ । (मुन्धुमको भावानुवादः ए … अब, पृथ्वीको केन्द्रबाट, नाभीबाट, चक्रवत पृथ्वीको गतिबाट, चिसो शीत जम्दै माथि आयो, त्यही चिसो शीतको सृङ्खला हिमाल भयो, चिसो शीतको पहाड हिउँले आच्छादित, उत्पत्ति भएर दृष्यमा देखिए, सगरमाथा र कुम्भकर्ण, कञ्चनजंघा र फियाम्लुङ्मा, मुक्कुम्लुङ्मा सेवालुङ्मा, हिमालय पर्वत र लामो पहाडको, महाभारतको पहाड (उत्पत्ति भएर) उठेको देखिए ।) लक्ष्मण मेन्याङ्बोबाट यभत्लुङ फावामा क्षेत्रतिर प्रचलित मुन्धुम संकलित मुन्धुम ‘याक्थुङ मुन्धुम (२०६२)’ मा मुक्कुमलुङ्माको उत्पत्तिको मुन्धुममा फरक नाम ‘सेमुक्तिलुङ’ उल्लेख भएको पाईन्छ । उनले ईक्सा खाम्वेक पोःक्मा मुन्धुमलाई नै कोई फङजङ्हा? पोक्मा उल्लेख गरेको पाइन्छ । (मुन्धुमको भावानुवादः फक्ताङ्लुङ्माले पेन्वेनलुङ, मुसेवालुङ्माले सेवालुङ, फा?लेलुङ्मुाले इसाङ्लुङ, इसाङलुङ्माले क्याबोलुङ, क्याबोलुङ्माले सङ्सङ्लुङ, सङ्सङ्लुङ्माले पोरोक्लुङ, पारोक्लुङमाले यम्फालुङ जन्मायो । सेमुक्तिलुङ्माले मुक्तिबुङलुङ् जन्मायो ।) यसरी हिमाल पहाड बनेको उल्लेख पाइन्छ । मामाङ्खे निवासी साम्बा देउमान माबो (२०७८ संवादमा आधारित) का अनुसार चम्जम्लुङ्मा, फक्ताङ्लुङमा, सेवालुङ्मा, केवालुङ्मा, पिफ्याम्लुङ्मा, चुङ्घुतलुङ्मा, मुक्कुमलुङ्मा, वधिःन्लुङमा आदि हिमाल पहाडको उत्पत्ति मुन्धुममा वर्णन पाइन्छ । मुन्धुमका यी प्रसंगले मुक्कुम्लुङमा आदिम शक्तिरुपी पहाडका रुपमा पुकारिएको देखिन्छ । यसको नाम याङवरक क्षेत्रको यभत्लुङ फावामा क्षेत्रमा यसलाई अरुतिर भनिने मुक्कुमलुङ्मा नाम भन्दा फरक सेमुक्तिलुङ भनिएको देखिन्छ । सेमुक्तिलुङ शब्दको सेसे मुक् केदिप्पा लुङ अर्थात पवित्र शक्ति प्रज्वलित हुने पहाडका रुपमा पुकारिएको देखिन्छ । सेमुक्तिलुङ्ले मुक्तिबुङलुङ जन्मायो भन्ने सन्दर्भमा मुक्तिबुङलुङ् (मुक केदिप्पा या शक्ति बल्ने मुल ढुङ्गो वा पहाड) अर्कै भएको संकेत गर्दछ । याङवरक क्षेत्रकै मुगाःङलुङ काःङवामा क्षेत्रमा भने शक्तिको पहाड मुक्कुम्लुङमा नामले नै पुकारेको पाइन्छ । मुन्धुममा ‘मुक्कुमलुङ्मा’ र लोकविश्वास : याक्थुङ मुन्धुम (सुब्बा जसराज २००३) अनुसार पहिलो मानव पुर्खा मुजिङ्ना खेयङ्ना (मुयङ्ना) हावा वतासको माध्यमबाट गर्भवती भईन । त्यसपछि उनको एक बाबुविनाको छोरा जन्मियो । उनको सानो छँदाको नाम सुसुवेङ् लावावेङ् र ठुलो भई धनुकाँड चलाएर शिकार खेल्न सक्ने भएपछिको नाम सावा युक्पुङ्गेम्बा थियो । आफ्नो आमाको सुझाब र निर्देशन अनुसार सावा युक्पुङ्गेम्बा धनुकाँड, सुनको छेलो र आफ्नो चार कुकुरहरु कोचो–तङ्ना, रन्या–तङ्ना, किधि–तङ्ना, पर–तङ्ना लिएर शिकार खेल्न वन जंगलतर्फ लागे । यसरी दक्षिणतिरर छेलो हान्दै मृग (पेङवा) को शिकार खेल्दै जाँदा उनी एक पर्वतको शिखरमा पुगे । त्यहाँ पुग्दा उनले एक महिला तान बुन्दै गरेको भेटे । त्यहि ठाउँमा पुगेर उनका शिकार मृग र शिकारी कुकुरको पाईला पनि अलप भयो । खासमा ती मृग र शिकारी कुकुर तिनै महिलाले लुकाई दिएकी थिईन । यसरी एकान्तमा सुनको गहनाले धपक्कै बलेकी तरुनी तान बुन्दै बसेकी थिईन । चिनारी गर्दा उनी योसुलुङ्मा मुक्कुम्लुङ्मा भएको थाहा भयो । पछि विशेष मानमनितो र विधि पुर्‍याएपछि तिनै मुक्कुम्लुङमाले अल्पाएका मृग र कुकुर पत्ता लगाउने जुक्ति सिकाईदिईन र सोहि अनुसार गर्दा सबै भेटिए । ती मुक्कुम्लुङ्मा तान बुन्न सो पहाडको शिखरमा र अरुबेला बास बस्न सो पहाडको फेदी तमोर (इम्बिरि याम्धाःङ्वा) नदीको किनार छिरुवानी (लुङ्:इक्वा) को एक ओडारमा बस्दथिन भन्ने लोक विश्वास छ । वास्तवमा तिनै महिला मुन्धुमी पात्रको नाममा यो पर्वतको नाम मुक्कुम्लुङ्मा रहन गयो भन्ने लोक विश्वास पनि पाईन्छ । यसरी प्रथम पुरुष मानव सावा युक्पुङ्गेम्बाले शिकार खेल्दै जाँदा भेटेको तान बुन्दै बस्ने तरुनी महिलाको नाम योसुलुङ्मा मुक्कुम्लुङ्मा थियो । उनले खेदाउँदै लगेको घाईते मृग र शिकारी कुकुरहरु लुकाईदिइन । पछि सावा युक्पुङ्गेम्बाले अनेक विन्तीभाउँ गरी शिकारीको भाषामा बोलाउँदा कुकुर निस्की आए । साथै शिकार पनि निकाली दिईन । खासमा यहि मुन्धुमको अर्को भाष्य स्वरुप आज पनि मुक्कुम्लुङ्मा माङले सयौं भेडा त्यसरी लुकाई दिएको र पछि विन्तीभाउँ र मानमनितो पुगेपछि मात्र निकाली दिएको किम्बदन्त्ती अहिले पनि पाईन्छ । यस्को थप पुष्टिको लागि ताप्लेजुङ सरोकार केन्द्रका निवर्तमान अध्यक्ष एवं ताप्लेजुङ पुस्तकका सम्पादक टंक श्रेष्ठले हालसालै मात्र लेख्न्भुएको ‘पाथीभरा कि मुकुम्लुङमा’ लेखमा पनि देख्न सकिन्छ । फुरुम्बुका पुर्व प्रधानपञ्च हरिप्रसाद भट्टराई (१९७८–२०७८) सँगको भ्वाईस रेकर्डमा आधारित सामाग्रीमा पाथीभरा नाम कहिले रहन गयो ? र प्रख्याती प्राप्त गर्‍यो ? भन्ने कुरा उल्लेख गर्दै त्यो भन्दा अगाडी हरिप्रसाद भट्टराई सानो छँदा (१९८३ सालतिर) तल्लाेफेदीभन्दा बायाँ केही पर सातमुले भन्ने (जहाँ पानीको सात मुल थियो) चन्द्रवीर भट्टराईको गोठ भएको ठाउँमा साधुको कुटी (गोठ) का साथै कुण्ड रहेको र सो ठाउँमा होम लगाएको देखेको र उनी आफुले साधुबाट क, ख पढ्न सिकेको कुरा उल्लेख भएबाट १९८४ को पहिरो पछि गोठलाहरु र केही अगुवाहरु मिलेर पञ्चकालिका देवीको मन्दिर माथि डाँडोमा चण्डीपाठ गरि स्थापित गरेपछि १९९० सालतिर माधव समशेर जबराले ठुलो घण्ट लिएर ठुलो दलबल सहित पञ्चकाली देवीको दर्शन गर्न पाथीभरा डाँडो पुगे पछि । र अलि पछिपछि मात्र भक्तजनहरुले पाथीभरा डाँडोमा देवीको थान भएको र बोलिचालीको हिसाबले पाथीभरा देवी नामाकरण भएको हो भन्न सकिने कुरा उल्लेखित सामाग्रीमा पाईन्छ । सारमा भन्नु पर्दा पाथीभरा भनिनुभन्दा पहिले कयौं बर्ष पहिलेदेखि अर्थात याक्थुङ लिम्बुहरुको मुन्धुममा उल्लेख भए अनुसार मानव सृष्टिताका देखि नै पवित्र भुमीको रुपमा रहेको मुक्कुम्लुङमाको विभिन्न कालखण्डमा विभिन्न नामाकरण हुनु आन्तरिक आप्रवासनको कारण स्वभाविक थियो, हुनेछ भन्न सकिन्छ । फेदाङ्मा, साम्बा, येवा, येमाहरुले कुनै मुन्धुमी अनुष्ठान गर्दा फाेङसिङ्मा (शक्ति आर्जनको लागि पुकारा) गर्दछन, त्यसमा थुप्रै हिमाल, पर्वत, खोलाहरुको पुकारा गर्दछन । मामाङखेका देउमान माबोका अनुसार यागाङ्सिङ फाेङ्मा मुन्धुममा खोला, हिमाल, पहाड, आदि शक्तिहरुसँगै मुक्कुम्लुङमालाई पनि यसरी पुकारा गरिन्छ । लक्ष्मण मेन्याङ्बो (२०६२) अनुसार येगेसिङ फाेङ्सिङमा मुन्धुममा हिमाल पहाडहरुको पुकारा पाठ गर्दै तिनीहरुलाई अनगिन्ती देवी देउताका रुपमा पुकारा गरेको देखिन्छ । तङसिङ तक्मा अनुष्ठान गर्दा साम्बा, येवा, येमाहरु चोत्लुङ पुग्छन र उपस्थित गन्यमान्य र भद्र महिलाहरुको रक्षा र कल्याण कर्म गरी हंस लिएर फर्कदा उनीहरु विभिन्न हिमाल टेक्दै, यागासिङ वा थान भएको ठाउँमा आईपुग्छन । देउमान माबोका अनुसार चोत्लुङ पुगेर आकाश मार्ग हुँदै फर्कदा हिमाल पहाडहरु टेक्दै फर्कन्छन । साम्बा सिद्घबहादुर साम्ब्यूका अनुसार सेल्लेङ्बा सेम्भोमा तावा क्षेत्रमा मुक्कुमलुङ्मा लाई कोईफङजङ् यम्बा माङ् भनेर पुकारिन्छ । उनका अनुसार सिरे? फाेङ्मा गर्दा पनि यसलाई पुकारिन्छ । लक्ष्मण मेन्याङ्बोका अनुसार यभत्लुङलुङ फावामा तिर प्रचलित मुन्धुममा अत्तु याङ्नुङ् नुःङ्मा मुन्धुम नाःत्ला वा चरणमा पूर्ववत जस्तै सेमुक्ति मुक्तिबुङ भनि उल्लेख पाईन्छ । यसरी तङसिङ तोःत्लुङ अनुष्ठान सकी फर्कदा मुक वा शक्तिको डाँडो सेमुक्तिःत् शिखर भएर फर्कनु पर्दोरहेछ । कुल प्रसाद मेन्याङ्बो (संवादमा आधारित) अनुसार परम परात्मा तागेरा निङ्वापफ्मुा माङको सावा येत्पफ्के केलेसिङ्मा (अनगिन्ती अवतारमा अवतरित हुने) मध्ये जाज्वल्य शक्ति रुपिणी सेमुक्तित् मुक्तिपुङ् मुक्कुम्लुङ्मा युमा माङका रुपमा अवतरित भएको पवित्र तीर्थस्थलको रुपमा यो मुक्कुम्लुङ्मा पर्वतलाई पुकारिन्छ । मुक्कुम्लुङ्माको पुजा गर्दा गरिने कुईकुदापलाई ध्यानमा राख्दा पनि मुक्कुम्लुङ्मा याक्थुङले मानीपुजी ल्याएका युमामाङ् भएको मानिन्छ । यहाँ कुईकुदाप भन्नाले पुङसाम्, ताम्भुङ्ना, चभत थुङ्बा माङ र खन्जःमा पर्दछन् । यी कुईकुदापको पुजा अर्चना भईसकेपछि अन्तिममा मात्र मुक्कुम्लुङमाको पुजा आराधाना गरिन्छ । साम्बा भवानी अन्छङ्बोका अनुसार मृत्य संस्कारको साम्सामा गरी फर्कदा, नाहाङ्मा गर्दा चोत्लुङ पुगी फर्कदा आदी अवस्थामा पनि मुक्कुम्लुङमा वा सेमुक्ति मुक्तिबुङ् भएर फर्किईन्छ । मुक्कुम्लुङ्मा वा सेमुक्ति मुक्तिबुङ दुबै नाम मुन्धुमी नामहरु हुन । ‘मुक्कुम्लुङ्’ नाममा ‘मा’ प्रत्यय याक्थुङ समाजमा स्त्री सत्ताको संकेत र आदरभावका रुपमा जोडिने र मुक्कुम्लुङमा नाम हुने बताउँछन । मामाङ्खेका अग्रज रनहाङ माबोका अनुसार याक्थुङहरु बिचमा भाषा भिन्नता, संस्कार संस्कृतिमा भिन्नता मात्र होइन, मुन्धुममा पनि भिन्नता हुन्छ । मुन्धुम संस्कार, भाषा, संस्कृति सारमा एक भएपनि रुपमा अनेकता वा फरक हुन्छ । थिबोङ याक्थुङहाङ अर्थात दश लिम्बुमा भएका अनेकतामा एकले अर्काको रीतिथीतिलाई सम्मान गर्नु थिबोङ याक्थुङहाङ थिमको सुन्दरता हो । सायद थिबोङ याक्थुङहाङ (१० राजा) को शाशनपूर्व येत्हाङ अर्थात ८ राजाहरुको संघात्मक शाशन थियो । त्यहीबाट एक याक्थुङ जातिमा अनेक भाषा, संस्कृति रीतिरिवाजको विजारोपण भएको भन्न सकिन्छ । १० राजाहरुले ८ राजाहरुलाई पराजित गरेपनि ८ राजाले पालन गरेको रीतिथिती नै मान्ने गरेबाट याक्थुङ समाजमा बहुलतामा एकता कायम भएको देखिन्छ । यसैको पृष्टभूमिमा मुक्कुमलुङ्माको नाममा पनि अनेकता पाईएको हुनुपर्दछ । कुनै ठाउँमा यसलाई मुक्कुम्लुङ्मा, कुनै ठाउँमा मुगुम्लुङ्मा, कुनै ठाउँमा मुगुपलुङ्मा, कुनै ठाउँमा सेमुक्ति(त्)लुङ/सेमुक्ति(म्)लुङ, कोइफङजङ् यम्बा आदि भनिएको हुनु पर्दछ । र मुन्धुममा पुकारिने गरेको देखिन्छ । यसरी हेर्दा नाम यादृच्छित नभएर अर्थपूर्ण हुन्छ भन्ने भाषा बैज्ञानिक मान्यातानुसार सेसे मुक्तिःत् मुक्तिःत्पुङ पवित्र शक्ति बल्ने शक्ति क्रेन्द्र भएको प्रतित हुन्छ । मुन्धुम र लोक प्रचलनमा वृहत्तर रुपमा प्रयुक्त मुक्कुम्ल्ङ्मा नामले पनि शक्ति दायिनी ढुङ्गो वा पहाड भएको अर्थ बोध हुन्छ । यो दुवै नामको मुल कुरा भनेको ‘मुक’ हो । यसले शक्ति जनाउँछ । अन्त्यमा, प्रस्तुत दृष्टान्तहरुले थिबोङ याक्थुङ्हाङ इःत्थिली या थिम (१० राजाहरुको सासन परम्परा) अनुसार प्रत्येक याक्थुङ्हाङ क्षेत्रमा फरक नाम भए पनि थिबोङ याक्थुङ अस्तित्वमा समान हो भन्ने मान्यताका आधारमा एक थिबोङहाङले अर्को थिबोङहाङ् थिमलाई स्वीकार्ने परम्परा अनुसार यो नाम ठीक यो नाम बेठीक भन्नु वान्छनीय देखिदैंन । यसर्थ ‘मुक्कुमलुङ्मा’को विविध नामहरुलाई स्वीकार्नु सबैका लागि उत्तम निश्कर्ष ठहरिनेछ । . . .#Padamjang Angbuhang. . . .https://www.facebook.com/padamjang

ShareTweet

Related Posts

प्राध्यापकहरूमाथि त्रिविको विभेद
एभरेष्ट टेलिभिजन नेटवर्क

प्राध्यापकहरूमाथि त्रिविको विभेद

२०६८ सालपछि प्राध्ययपन पेशामा स्थायी भएको त्रिभुवन विश्वविद्यालयको शिक्षकहरूले निवृत्तिभरण अर्थात पेन्सननपाउने नियम त्रिभुवन विश्वविद्यालयको प्रशासन शाखाले प्राध्यपकहरूसंग कुनै छलफल...

April 27, 2026
Uncategorized

सिलाम साक्माको राष्ट्रिय चर्चा

March 26, 2026
Uncategorized

निर्वाचन विशेष 3

March 2, 2026
Uncategorized

निर्वाचन विशेष 2

March 2, 2026
Next Post
मृगौला पिडितलाई विगेसोको सहयोग

मृगौला पिडितलाई विगेसोको सहयोग

बेलायत र सिङ्गापुरे लाहुरेले न्याय पाउने

बेलायत र सिङ्गापुरे लाहुरेले न्याय पाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In