भट्टचन, कृष्ण बहादुर (२०५८) **नेपालमा बौद्ध धर्म र सामाजिक मेलमिलाप, पृष्ठ ९१–१०१ । स्वर्ण–स्मारिका स्वाायापुन्ही स्वर्ण जयन्ती, यल (२००९–२०५८) **। पिकाक: २५४५ औं बुद्ध जयन्ती मूल समारोह समिति । श्री हिरण्य वर्ण महाबिहार, तारेमाम् संघ, नागबहाल, यल, २०५८ ।
**नेपालमा बौद्ध धर्म र सामाजिक मेलमिलाप**
— डा. कृष्ण बहादुर भट्टचन
नेपालमा पनि विश्वका अन्य भागहरुमा जस्तै धुमधामका साथ एक्काईसौं शताब्दिमा प्रबेश गरेको वारे व्यापक चर्चा परिचर्चाहरु भए र विशौं शताव्दिलाई राजनैतिक हिसावले अतिनै अध्यांरो र उज्यालो, विज्ञानको हिसावले अति उज्वल मानिए पनि हिंसा र रक्तपातपुर्ण शताव्दि पनि रहेको थियो । दक्षिण एशियामा भारत, पाकिस्तान र श्रीलंका धर्म र राजनैतिक झगडाको अखडा नै भएको छ । शान्तिको चाहना विश्व समुदायमा प्रबलरुपमा रहेको थियो र अभ वढि छ । गौतम बुद्धको शान्तिको सन्देश भने अंग्रेजी एक्काईसौं शताव्दिमात्र नभएर वास्तवमा छब्बिसौं शताब्दिमा छ र यो एक्काईसौं शताव्दिमा झनै यसको महत्व बढेको छ । स्यामुएल हन्टिङटनले एक्काईसौं शताब्दि विभीन्न सभ्यताहरु विचको टक्कर हुने भविष्यवाणि गरेका छन् । नेपालमा पनि जातीय, भाषिक, धार्मिक, सामाजिक र सांस्कृतिक भेदभाव, अशान्ति, हिंसा र प्रतिहिंसाका घटनाहरु दिन प्रतिदिन अकाशिदै गएको अवस्थामा सामाजिक मेलमिलापका दार्शनिक र यथार्थ पक्षहरुलाई केलाएर हेर्नु अत्यावश्यक भएको छ ।
मैले प्रस्तुत लेखलाई चार भागमा बांडेको छु: (१) बौद्ध धर्ममा सामाजिक मेलमिलापका दार्शनिक पक्षहरु, (२) बौद्ध धर्म र नेपालको सामाजिक संरचना अन्तर्गत सामाजिक मेलमिलापका व्यावहारिक पक्षहरु, (३) सामाजिक मेलमिलापलाई नकारात्मकरुपमा प्रभाव पार्ने सवालहरु, र (४) नेपालमा सामाजिक मेलमिलापकालागि बौद्धधर्माबलम्बीहरुले अब के गर्नु पर्यो ।
**बौद्ध धर्ममा सामाजिक मेलमिलापका दार्शनिक पक्षहरु**
संसार भरीनै बौद्ध धर्मलाई शान्ति र अहिंसाको प्रतिककोरुपमा लिने गरिन्छ । बौद्ध धर्ममा प्रतिपादन भएको मध्य मार्ग आज सारा पश्चिमी राष्ट्रहरुको राजनैतिक दर्शन बन्न पुगेको छ । आणवीक हातहतियारले सुसज्जीत विश्व ग्राममा विभीन्न ठाउंमा भइरहेका हिंसात्मक राजनैतिक कार्यहरुले शान्ति र अहिंसाको चाहनालाई अगाडि सारेको छ । त्यसैले बौद्ध धर्मको महत्ता र सान्दर्भिकतालाई झन प्रष्ट बनाएको छ । बौद्ध धर्मले संसार भरीनै मेलमिलाप चाहन्छ । बौद्ध धर्ममा भएका सामाजिक मेलमिलापका दार्शनिक पक्षहरुको मुख्य सार निम्न प्रकार छन्:
**चतुआर्य** सत्य
१. संसार दु:खपुर्ण छ । २. दुख:का कारण छन् ।
३. दु:खका निवारणका उपाय छन् । ४. उपाय यसै संसारमा छ ।
**आर्य अष्टाङ्गिक मार्ग**
१. सम्यक दृष्टि २. सम्यक संकल्प
३. सम्यक स्मृति ४. सम्यक वचन
५. सम्यक कर्मान्त ६. सम्यक व्यायाम
७. सम्यक समाधि ८. सम्यक आजीविका
बौद्ध धर्मको अन्य मुख्य सार जसले सामाजिक मेलमीलापलाई जोड दिन्छ ती निम्न प्रकार छन्:
सत्य दुई वटा छन् (१) सम्बृत्ति सत्य अथवा सांसारीक सत्य र (२) परमार्थ सत्य। तिन वटा धर्म शिल छन्: (१) धर्म मुद्रा (२) अनित्य र (३) निर्वाण । मुक्तिका तिन ढोकाहरु छन्: (१) शुन्यता, (२) अनिमित्य र (३) अप्रनिहिता । बुद्धका तिन काया हुन्: (१) धर्मकाया, (२) सम्भोगाकाया, र (३) निर्माणकाया । त्रिरत्न हुन्: (१) बुद्धम् शरणम गच्छामी, (२) धम्मम् शरणम गच्छामी र (३) संघम् शरणम गच्छामी । नाप्नै नसकिने चार प्रकारका मनहरु हुन्: (१) मैत्री, (२) करुणा, मुदीत, र (४) उपेक्षा । पांच स्कन्धा हुन्: (१) रुप, (२) वेदना, (३) संज्ञा, (४) संस्कार, र (५) चेतना । पञ्च शक्तिहरु हुन्: (१) श्रद्धा, (२) विर्य, (३) स्मृति, (४) समाधि, र (५) प्रज्ञा । छ वटा पारमिताहरु हुन्: (१) दान (२) शिल, (३) शान्ति, (४) विर्य, (५) ध्यान, र (६) प्रज्ञा । सप्त बोधयाङ्गा हुन्: (१) स्मृति, (२) धर्मप्रभिक्षा, (३) विर्य, (४) प्रश्राब्धी, (५) प्रिति, (६) समाधि, र (७) उपेक्षा हुन् ।
विश्व प्रख्यात समाजशास्त्री जोहान गाल्टुङका अनुसार बौद्ध धर्ममा शान्तिको पक्षमा भएका २० वटा बुंदाहरु अत्यन्त महत्वपुर्ण छन्: अनत्व, अहिंसा, करुणा, सहकारीताको भावना, विविधता, मध्यमार्ग, समानता, सानो राम्रो, सम्पुर्णता, सर्वसाधारण जनताको धर्म, सृष्टिकर्ता र सृष्टीका वीच एकता, कर्ता र वस्तुको वीच फरक, सम्पुर्ण कूराको अनित्यता, दोहोरो अन्तरकृया, अन्तरविरोधले भरीपुर्ण संसार, बौद्ध विचार बौद्ध चक्र जस्तै संगठिट, अत्यन्त आशावादि विचार, बौद्धधर्माबलम्बीहरुको दृष्टिकोणमा एकदिशान्मुखको सट्टा चक्रीय प्रकृया, निरन्तर प्रयाशमा जोड, र निर्वाण ।
गाल्टुङका अनूसार बौद्ध धर्म र शान्तिका सम्बन्धमा ६ वटा कमीकमजोरीहरु छन्: सहनशिलता राम्रो हो तर बौद्ध धर्ममा अति हिंसात्मक सैन्य शासनको पनि सहन गर्नु, सहनशिलता राम्रो हो तर संरचनागत हिंसाको व्यवहार गर्ने प्रणालीलाई पनि सहन गर्नु, बुद्ध, धम्म र संघमा अघिल्लो दुई सबैकालागि उपलब्ध छ तर संघले भने वांकी समुदाय संग अलग थलग राख्नु, राज्यले बौद्ध धर्मको विपरित कार्य गरे पनि बौद्ध धर्म राज्य धर्म भएको अवस्थामा बौद्ध धर्मको मुल्य र मान्यता विपरित गए पनि सहने गर्नु, चक्रीय प्रकृयामा विश्वास गर्दा भाग्यवादको मात्रा अधिक हूने सम्भावना र उपरोक्त पांच वटा कमी कमजोरीले गर्दा बौद्ध धर्म कर्मकाण्डीय र गहना जस्तो देखिन सक्ने हुनु ।
प्रशिद्ध समाजशास्त्री म्याक्स वेवरले प्रोटेष्टेण्ट धर्ममा मात्र पुंजीवादको विकासको विउ—विजन रहेको र भारतीय उपमहाद्धीपमा भएका धर्महरु पुंजीवादको विकासकालागि बाधक भएको बताएका थिए । गाल्टुङका अनुसार बौद्ध धर्ममा विकास को दर्शन वा सिद्धान्त नभएको जस्तो देखिए पनि पांच वटा महत्वुर्ण पक्षहरु उल्लेखनीय छ: (१) बुद्धले सहनशिलतामा जोड दिएको छ, (२) सामाजिक संरचनाले एउटा वर्गलाई सबै फायदा दिने र अर्को वर्गले केहि नपाउने स्थिती सृजना गर्न सक्छ र यस्तो स्थितीमा कुनै व्यक्तिले वद्माशि गरेमा वा थिचोमिचो भएको अवस्थामा अन्यायपुर्ण सजाय नपाउन ढांट्नु पर्ने स्थिती आएमा दोषि को हुने? व्यक्ति वा समाज? त्यसैले बौद्ध धर्ममा अति धेरै र अति थोरैको सिमा काट्न निषेध गरिएको छ, (३) अन्य धर्ममा स्वर्ग र नर्कको अवधारणा भएकोले आदर्श समाज कस्तो हुन्छ सो वारे आभाष पाउन सकिन्छ तर बौद्ध धर्ममा निर्वाणलाई अन्त्य माने एउटा अर्थ र अलौकिक सुख माने अर्को अर्थ लाग्छ ता पनि चार वटा सत्य र आठ वटा सम्यक मार्गलाई आत्मसात गरेर हिंडेको खण्डमा आधारभूत आबश्यकता पुर्ति गर्न सबैलाई प्रेरित गर्छ ।
अहिंसाका वारेमा बौद्ध धर्म अन्य सबै धर्महरु भन्दा बढि प्रष्ट छ भन्ने ग्याल्टुङको विचार छ । वहांका अनूसार शान्तिकालागि तिन वटा आधारभूत खतरा छ: एउटा प्रत्येक्ष हिंसा, दोश्रो संरचानागत हिंसा र तेश्रो सांस्कृतिक हिंसा । बौद्ध धर्मको पञ्च शिल अनुसार प्रत्यक्ष हिंसालाई अरुको जीवन लिन वाट पर रहने, जे दिइएको छैन त्यो लिन वाट पर रहने, दुराचार वाट पर रहने, झुठो बोल्न वाट पर रहने र मनलाई लागू पदार्थ सेवन गरेर खतम गर्नु वाट पर रहने भन्ने कुरा उल्लेख छ । तर ग्याल्टुङको विचारमा थोरै संख्यामा रहेकाले धेरै संख्यामा रहेकालाई संरचनाका आधारमा प्रत्यक्षरुपमा नभएर अप्रत्यक्ष रुपमा केहि नदिएर विस्तारै सबैलाई मार्नेलाई के गर्ने भन्ने प्रश्न बढि महत्वपुर्ण भएको कुरा उठाउनु भएको छ ।
**बौद्ध धर्म र नेपालको सामाजिक संरचना अन्तर्गत सामाजिक मेलमिलापका व्यावहारिक पक्षहरु**
नेपालको सामाजिक संरचनाको एउटा प्रमुख विशेषता भनेको विविधता हो । जैविक, सामाजिक–सांस्कृतिक, भाषिक, धार्मिक र क्षेत्रिय विविधताको लामो निरन्तरता छ र राजनैतिक बहुलता पनि यसमा हालसालै देखि थपिन पुगेको छ ।
नेपालमा नश्लको हिसावले ककेसियन, मङ्गोलीयन, ड्रभीडियन र प्रोटो–अष्टा्रेल्योयड गरि चार प्रकारका छन् । जाती गत हिसावले परम्परागत बर्णाश्रम व्यवस्था अन्र्तगत ब्राह्मण, क्षेत्रीय, बैश्य, शूद्र र ँअछूत”हरु छन् र यस भित्र सयौं जात र उपजातहरु छन् । पहाडका जातहरुमा बाहुन (कुमाई र पुर्विया), क्षेत्री र दलित छन् तर बैश्य भने छैनन् । श्री ५ को सरकारले हालै ६१ आदिवासी जनजातिहरुको पहिचान गरेको छ । मुशलमान, शिख, बङ्गाली आदि समुदायहरु पनि छन् । जङ्गबहादुर राणाको पालाको मुलुकी ऐनको प्रभावले अझै पनि तागाधारी, मतवाली, पानी नचल्ने तर छोइछिटो हाल्नु नपर्ने र पानी नचल्ने र छोइछिटो हाल्नु पर्ने जात भन्ने चलन अद्यावधि छ । सन् १९६३ (वि.सं. २०२०) को मुलुकी ऐनले जातीय भेदभाव र छुवाछुतको अन्त्य गरेको छ तर व्यवहारमा भने अझै पनि निरन्तरता छ । विगत अढाई शताव्दि जती शासन प्रशासनमा एउटै जात बाहुन क्षेत्रीको एकाधिकार, हाली मुहाली र दलन मलन कायम रहदैं आएको छ । यस्तो एकाधिकारले सामाजिक मेलमिलापको स्थिती सृजना हुन वाधा पुर्याइरहेको छ ।
नेपालमा भारोपेली, तिब्बति बर्मेली, मुण्डा र ड्रभीड भाषा परिवारका करीव १२५ जती भाषा—भाषिकाहरु छन् । नेपाल अधिराज्यको संविधान, २०४७ ले बहुभाषिक मुलुक भनि स्वीकार गरेको छ तर खस नेपाली भाषालाई राष्ट्र भाषा र मातृभाषाहरुलाई राष्ट्रिय भाषा भनि खस नेपाली भाषालाई मात्र सरकारी कामकाजको एकमात्र भाषा भनेर केहि समय अघि सर्बोच्च अदालतले स्थानीय निकायहरुमा नेपाली भाषाका अतिरिक्त सो निकायका बहुल जनसंख्याले बोल्ने मातृभाषाको पनि प्रयोगमा रोक लगाएको छ । वाहुनवादी राज्यसत्ता आफैं साम्प्रदायिक भएकाले खस नेपाली र मातृभाषा–भाषिहरु विच मेलमिलाप सृजना हुन वाधा परिरहेको छ ।
नेपाल एउटा बहुधार्मिक मुलुक हो भन्ने कूरालाई नेपाल अधिराज्यको संविधान, २०४७ ले मानेको जस्तो देखिए पनि हिन्दू अधिराज्यको रुपमा घोषणा गरेको छ । नेपालमा ठुलो जनसंख्याले प्रकृतिपूजा, बोन, कीरांत, बौद्ध, ईश्लाम, इशाई धर्म लगायत अन्य धर्म मान्नेहरु छन् । धर्मको मामलामा पनि बाहुनवादी राज्यसत्ता अत्यन्त साम्प्रदायिक भएकाले हिन्दू धर्माबलम्बी र अन्य धमाबलम्बीहरु विच कटूता बढ्न थालेको छ अर्थात मेलमिलापको स्थिती सृजना हुन बाधा पुगेको छ । धार्मिक हिसावले हिन्दू धर्माबलम्बीहरुले प्रकृती धर्म, कीरांत, बौद्ध ईश्लाम, इशाई, शिख, जैन आदि लगायतका धर्माबलम्बीहरु संग मेलमीलाप राख्न आफ्नो धार्मिक अतिवादितालाई धेरै तल झार्नु पर्ने आवश्यकता टड्कारो छ ।
क्षेत्रगत हिसावले एकातिर हिमाल, पहाड र मधेस छ भने अर्कोतिर पांचवटा विकास क्षेत्रहरु छन्: पुर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल ।
नेपालमा धेरैजसो बौद्ध धर्माबलम्बीहरु नश्लका हिसावले मंगोल, जातीगत हिसावले आदिवासी जनजाति, क्षेत्रगत हिसावले पश्चिमाञ्चल, मध्यमाञ्चल र पुर्वाञ्चलका हिमाली र पहाडी क्षेत्रका जनताहरु छन् । बौद्ध धर्माबलम्बिहरु मथि बाहुनवादी हिन्दू राज्यसत्ता वाट शोषण, दमन, उत्पिडन र अवहेलनको ईतिहास लामो छ । छोटकरीमा भन्नु पर्दा पृथ्बी नारायण शाहका पाला देखि नेपाललाई ँअसली हिन्दुस्तान” बनाउने क्रममा जङ्ग बहादूर राणाले आदिवासी जनजातिहरुलाई समेत हिन्दू वर्णाश्रम व्यवस्था भित्र मुलुकी ऐनको माध्यम समेटे भने ३० वर्ष लामो निरंकुश निर्दलीय पञ्चायत व्यवस्थाका समयमा एउटै जात (बाहुन–क्षेत्री), एउटै भाषा (खस नेपाली), एउटै धर्म (हिन्दू), र एउटै संस्कृति (हिन्दू) र जनआन्दोलन पछि पुनस्र्थापित बहुदलीय व्यवस्थामा हिन्दू अधिराज्य अन्तरगत बाहुनवाद, हिन्दूकरण र संस्कृतकरणको प्रकृया वाट सामाजिक–सांस्कृतिक र धार्मिक विविधतालाई सकेसम्म माश्ने नसके तहस नहस पार्ने सुनियोजित षडयन्त्र र प्रयाश भईरहेको भएतापनि माथि उल्लिखित विविधताहरु नाश हुन सकेन, भएन ।
अहिलेको नेपाली समाजमा बाहुन—क्षेत्री शासकहरु संग दलित र आदिवासी जनजातिहरु, हिन्दूहरुसंग ईशाई र मुसलमानहरु, पहाडिया संग मधिसेहरुको मतभेद गम्भीर हूंदै गएको यथार्थता डा. डिल्ली राम दाहालले औंल्याउनु भएको छ । मोलिका डाष्टीडरले पनि नेपालमा हिन्दू धर्म र बौद्ध धर्म लगायतका अन्य धर्महरु वीच मेलमिलापको समस्या हिन्दू धर्मको एकतर्फि बलमिचाइ वाट भएको विश्लेषण छ । मैले नेपाल र एशियाली अनुसन्धान केन्द्रले प्रकाशित गरेको एउटा पुस्तकमा नेपालमा राजनैतिक नेताहरुले संधै ँनेपालमा जातीय र धार्मिक सहिष्णुता अक्षुण्ण रहि आएको छ” भन्ने भनाईको खण्डन गर्दै हिन्दू शासकहरुको एकाधिकार, हाली मुहाली, शोषण, दमन र उत्पीडन दलित, आदिवासि जनजाति, ईश्लाम, ईशाई, मधिसे, महिला आदि उपर निरन्तर रहदै आएको र बेला बेलामा आदिवासी जनजातिहरुले विद्रोह र संघर्ष गर्ने गरेका तर त्यसलाई राज्यसत्ताको सेना, प्रहरी र ऐन कानुनको बलमा दवाउदै आए ता पनि सामाजिक र सांस्कृतिक तहमा त्यस्ता विमती कायम रहंदै आएको थियो । मेरो यो भनाईलाई स्वदेशि र विदेशि विद्वानहरुले नेपालका शासकहरुले भने जस्तो सहिष्णुता नभएको र हिंसात्मक साम्प्रदायिक घटनाहरु पनि नभएको कुरा उल्लेख गरेका छन् ।
बौद्ध धर्माबलम्बी र दलित वीचको सम्बन्धलाई दृष्टिगत गर्दा गौतम बौद्धले बौद्ध धर्म नै हिन्दू धर्मले अत्यन्त अमानवीय तरिकाले गर्दै आएको छुवाछुत र उंचनिच लगायतका जातीय विभेदका विरुद्ध प्रतिपादन गरेको भएता पनि कतिपयले दैनिक व्यवहारमा हिन्दुहरुले जस्तै छुवाछूतको अमानवीय व्यवहार गर्ने गरेको प्रति दलितहरु सन्तुष्ट छैनन् । त्यसैले कैयन दलितहरु हिन्दू धर्मको उत्पीडन वाट बच्न इशाई बनेका छन् तर बौद्ध धर्ममा समानता र छुवाछुतको व्यवहार नभएता पनि व्यवहारमा त्यस्ता व्यवहार भएको कारणले बौद्ध धर्म मानेर मुक्ति प्राप्त गर्छौ भन्न सकेका छैनन् । हुनत इशाई धर्ममा पनि इशाईहरु वीचनै जातीय उंचनिचको भावना जागेको देखेर दलितहरुमा वितृष्णा पैदाहुन थालेको पनि देखिन्छ ।
**सामाजिक मेलमिलापलाई नकारात्मकरुपमा प्रभाव पार्ने सवालहरु**
नेपालको बहुल समाजमा सामाजिक मेलमिलापलाई प्रभाव पार्ने मुख्य सवालहरु हुन्: धर्मनिरपेक्ष वा हिन्दु अधिराज्य, बौद्ध धर्मको स्व:पहिचान वा हिन्दू धर्मको एक शाखा, राष्ट्रिय जनगणनामा बौद्ध धर्माबलम्बीहरुको संख्या तथ्यांक वा मिथ्यांक, बाहुनवाद र हिन्दूकरण, शिबसेना र पशुपति सेनाको विगविगि, परम्परागत धर्म वा इशाईकरण, र सामाजिक जीवनमा नगन्य वा यथोचित सहभागिता र प्रतिनिधित्व ।
**हिन्दू अधिराज्य वा धर्मनिरपेक्षता:**
नेपाल अधिराज्यको संविधान, २०४७ ले नेपाललाई बहुजातीय र बहुभाषिक समाज मानेर पनि बहुधार्मिक यथार्थतालाई आंखा चिम्लेर बौद्ध धर्माबलम्बी लगाएत लाखौं हिन्दू धर्म ईतरका जनताहरुले सडकमा उत्रेर धर्मनिरपेक्षताको पक्षमा जोडडार माग राखेको भएता पनि संविधानले हिन्दू अधिराज्यको रुपमा एकतर्फि घोषणा गरेको छ । नेपालका ६१ आदिवासी जनजातिहरुले परम्परागत रुपमा प्रकृतिपुजा, बोन, कीरांत र बौद्ध धर्म मान्दै आएको र गौतम बुद्धको जन्म नेपालको लुम्बिनी भएको र हिन्दु र बौद्ध बाहेकका अन्य धर्माबलम्बीहरु समेत भएको यथार्थतालाई आत्मसात नगरि बाहुनवादी हिन्दू शासकहरुले राज्यको धर्म नै हिन्दू बनाउने गलत कार्य गरे । संविधान जून मुलुकको मुल कानुन हो त्यसले नै हिन्दू धर्मको एकतर्फि पक्ष लिएको कारणले राज्यसत्ता बाट र हिन्दू धर्माबलम्बीहरु मध्ये कझ्रपन्थि हिन्दूहरुवाट बौद्ध धर्माबलम्बी लगायत अन्य धर्माबलम्बीहरु राष्ट्रिय देखि स्थानीय तह र व्यक्तिगत तह समेतमा विभीन्न प्रकारका शोषण, दमन र उत्पीडन र अपहेलनको शिकार हुंदै आईरहेको एउटा तितो यथार्थता हो । धर्मनिरपेक्षतालाई आत्मसात गर्न नसकेको र हिन्दू धर्मलाई संविधान र राज्यले संरक्षण गरेको कारण लुम्बीनी र बौद्ध धर्मको विकास जती हुनु पर्ने त्यत्ति हुन सकिरहेको छैन (विभीन्न ठाउंमा गुम्बा, अध्ययन अनुसन्धान केन्द्र र शिक्षण संस्थाहरु आदि) हुनु पर्ने हो त्यो अझ सम्म हुन सकेको छैन । यसको नतिजा बौद्ध र हिन्दू धर्माबलम्बीहरु वीच मैत्री भाव समधुर हुनुको सट्टा शंका र कटुतापुर्ण हुदै गएको देखिन्छ ।
**बौद्ध धर्मको स्व:पहिचान बा हिन्दू धर्मको एक शाखा:**
गौतम बुद्धले हिन्दू धर्ममा भएको अतिनै अमानवीय छुवाछूत, उंचनिच जातीपाती प्रथाको सशक्त बिरोध गर्दै चारवटा सत्य र आठवटा मुक्ति मार्गको प्रतिपादन गरेका थिए । हिन्दूहरुले बौद्ध धर्मलाई हिन्दू धर्मको एउटा शाखा मान्ने र बौद्धलाई बिष्णुको नवौं अवतार मान्ने ढिंपी बौद्ध धर्माबलम्बीहरु माथि दुव्र्यबहार हो जुन अध्याबधि कायम छ । केहि समय पहिले विश्व हिन्दू महासंघले लुम्बिनीमा हिन्दू—बौद्ध एक्य सम्मेलन गर्दा धर्मोदय सभा र यस संग सम्बन्धित ९२ भन्दा वढि बौद्ध संघ संस्थाहरुले बौद्ध धर्मलाई हिन्दू धर्मको एउटा शाखा मान्ने जस्तो अत्यन्त गलत कार्यको सशक्त विरोध गरे वाट प्रष्ट भएकै छ । उक्त सम्मेलन लुम्बीनी भित्र गर्ने भनि अनाबश्यक जिद्धी गरिएको विरोधका कारण सिद्धार्थनगरमा गरेका थिए र विवादको कारण पछि शंकराचार्यले बौद्ध धर्मको अलग अस्तित्व र पहिचान भएकोले हिन्दू धर्मको शाखा नभएको जानकारी दिन बाध्य भएका थिए । तै पनि हिन्दूहरुको दुस्प्रचारको कारण कैयन हिन्दू धर्माबलम्बीहरु भ्रममा परि बौद्ध धर्माबलम्बीहरुको धार्मिक आस्थामा गहिरो चोट पुर्याउने व्यवहार गर्दै आएकाले हिन्दू र बौद्ध धर्माबलम्बीहरु विच फाटो र मनमुटावको खाडल विगतमा भन्दा झन ठूलो हुदै गएको देखिन्छ ।
**राष्ट्रिय जनगणनामा बौद्ध धर्माबलम्बीहरुको संख्या तथ्यांक बा मिथ्यांक:**
सन् १९९१ मा लिइएको राष्ट्रिय जनगणनामा ६ वटा धर्माबलम्बीहरुको तथ्यांक दिइएको छ र त्यस अनुसार हिन्दूहरुको जनसंख्या ६.५१ प्रतिशत, बौद्धहरुको ७.८ प्रतिशत, इश्लामहरुको ३.५ प्रतिशत, किरांतहरुको १.७ प्रतिशत, इशाईहरुको ०.२ प्रतिशत र अन्य धर्माबलम्बीहरुको ०.३ प्रतिशत देखाइएको छ । जनसंख्याको अत्यधिक संख्या बौद्ध धर्माबलम्बी शेर्पा (८९.८ प्रतिशत), तामाङ्ग (८६.११ प्रतिशत) र भोटे (७९.४५ प्रतिशत) देखिन्छ । एक तिहाई देखि आधा भन्दा केहि कम बौद्ध धर्माबलम्बी हुने जनजातिमा थकाली (४१.५८ प्रतिशत), गुरुङ (४१.४२ प्रतिशत), लेप्चा (३६.०८ प्रतिशत) र जीरेल (३५.१४ प्रतिशत) देखाइएको छ । थामीको (२३.७२ प्रतिशत) र नेवारको (१४.०२ प्रतिशत) वाहेक अन्य सवै जनजातिमा बौद्ध धर्माबलम्बीहरुको संख्या ७ प्रशित भन्दा कम देखाइएको छ । जनजातिहरुमध्येमा हिन्दू धर्माबलम्बीहरुको संख्या राजीमा ९९.४२ प्रतिशत, राउटेमा ९८.९९ प्रतिशत, थारुमा ९८.९ प्रतिशत, माझीमा ९८.०५ प्रतिशत, मगरमा ९७.७५ प्रतिशत, दनुवारमा ९७.०३ प्रतिशत, सुनुवारमा ९३.७१ प्रतिशत, चेपाङमा ८९.५१ प्रतिशत, नेवारमा ५.६१ प्रतिशत, धिमालमा ७२.३१ प्रतिशत, थामिमा ७२.३१ प्रतिशत, राईमा ६५.१३ प्रतिशत, जिरेलमा ६२.२५ प्रतिशत, लेप्चामा ६२.६ प्रतिशत, गुरुङमा ५७.८५ प्रतिशत, थकालीमा ५७.०५ प्रतिशत, लिम्बुमा ४१.५४ प्रतिशत, भोटेमा २०.२ प्रतिशत, तामाङमा १२.६१ प्रतिशत, र शेर्पामा ९.९९ प्रतिशत देखाइएको छ । डा. हर्क गुरुङले गर्नु भएको राष्ट्रिय जनगणना १९९१ को तथ्यांक अनूसार नेपालको कूल जनसंख्या १८,४९१,०९७ मध्ये हिन्दू जातको जनसंख्या ५६.२ प्रतिशत, जनजातिको जनसंख्या ३५.५ प्रतिशत र अन्य जातजातीको संख्या ८.३ प्रतिशत छन् ।
श्री ५ को सरकारको केन्द्रिय तथ्यांक विभागले हरेक दश वर्षमा लिने जनगणनाको तथ्यांकहरुलाई सामाजिक शास्त्रीहरुले मिथ्यांक हुने गरेको आरोप लगाउने गरिएको छ भने हिन्दू धर्माबलम्बीहरुको तथ्यांक केहि बढाइचढाइ प्रस्तुत गरेकोले घटाएर ७० प्रतिशत बनाउनु पर्ने सुझाव पत्रकार कनकमणि दिक्षितले देशान्तर साप्ताहिकको कार्तिक २४, २०५४ को अंकमा प्रकाशित नेपालका हिन्दू राजा र हिन्दूत्व सम्बन्धि एउटा लेख मार्फत भन्नू भएको छ तर अधिकांश बौद्ध धर्माबलम्बीहरुले आफ्नो जनसंख्या अत्यधिक भएको दावी गर्दै आएका छन् । हिन्दूहरुको तथ्यांक ८६.५१ देखाउनुको पछाडिको राजनिती एकातिर नेपाल अधिराज्यको संविधान, २०४७ ले नेपाललाई एउटा हिन्दू अधिराज्य घोषित गरेको कार्यलाई बैधता दिनू हो भने अर्कोतिर राज्यले हिन्दू धर्माबलम्बीहरुको लागि काखा र बौद्ध र अन्य धर्माबलम्बीहरुलाई पाखा राख्ने नीति तथा कार्यक्रमहरुलाई अझ दरिलो बनाउनू हो भन्ने प्रष्ट छ । यस्तो गलत कार्यले हिन्दू शासकहरुका विरुद्ध बौद्ध र अन्य धर्माबलम्बीहरुको मनमा चिसो पस्नु र शंका बढ्नू कुनै आश्चर्य होइन । यसको फल हिन्दू र बौद्ध धर्माबलम्बी वीच मेलमिलापको विकासको ठाउंमा बैमनस्यता र कटूता बढ्न गएको देखिन्छ ।
**बाहुनवाद र हिन्दूकरण**:
काठमाडौं उपत्यकाका आदिवासी नेवारहरु हिन्दूकरणको प्रकृयामा राजा जयस्थिती मल्लका पालादेखि काशिवाट झिकाईएका चार जना पाण्डाल पण्डितहरुको सल्लाह बमोजिम ६४ पेशागत जातमा विभाजन गरि तिब्र पारियो । पछि राजा द्रब्य शाहले साम, दाम, दण्ड, र भेदको नीति अख्तियार गरि लिगलिग कोटमा हिंसाको माध्यम बाट ँराजा छान्ने डौड जिते” पछि पृथ्बी नारायण शाहले बाईसे चौबिसे राज्य रजौटाहरुलाई ँगोर्खा साम्राज्य”को विस्तार गरि नेपालको भौगोलिक एकिकरण गरे पछि ँअसली हिन्दुस्तान” बनाउने परियोजनालाई राणा शासनका प्रबर्तक जङ्ग बहादुर राणाले सन् १८५४ को मुलुकी ऐन लागु गरि सबै आदिवासी जनजातिलाई ँमतवाली” भनेर जातको घेरा भित्र हाले । निरंकुश निर्दलीय पञ्चायत व्यवस्थाका ३० वर्षको समया अवधिमा एउटै जात, एउटै भाषा, एउटै भेष, एउटै संस्कृति र एउटै धर्मलाई राज्यले लाद्ने काम भयो । यसरी शताब्दियौं सम्म राज्यसत्ताका आडमा लादिएको हिन्दूकरणको कारणले धेरै बौद्ध धर्माबलम्बीहरुमा या हिन्दूकरणको प्रभाव पर्यो या कैयन पुर्णत: हिन्दूकरण भए । फलत: आजको प्रजातन्त्र, समानता र मानवाधिकारको मुल्य र मान्यतालाई उच्च सम्मान र आदर गर्ने परिपाटीमा बौद्ध धर्माबलम्बीहरु जो अधिकांश आदिवासी जनजाति छन् ले ँहामी बौद्ध धर्माबलम्बी हौं कि हिन्दू हौं” भनेर केहि विवादको सृजना भएको छ र दिन प्रति दिन आफनो परम्परागत धर्म बौद्ध धर्म तर्फ आस्था राख्ने विचमा हिन्दूकरण गरि लिइएका संस्कार र मुल्य मान्यतालाई त्याग्ने प्रचलन बढेको छ । विगत केहि वर्ष यता आदिवासी जनजातिहरुले हामी आदिवासी जनजाति हौं भन्दै दशैं बहिष्कार गर्ने क्रम तिब्र भएको छ र यसै क्रममा केहिले आदिवासी जनजातिले गलत रुपमा दशै हाम्रो चाड हो भन्ने पनि छन् भने केहिले दशैं हाम्रो चाड होईन तर यसको विकल्प चाड के हो भनी प्रश्न गर्दछन् भने धेरै जसोले बौद्ध धर्म हाम्रो परम्परागत धर्म भएकोले यसैलाई संरक्षण र सम्बद्र्धन गर्नु पर्दछ भन्नेहरु छन् । आदीवासी जनजातिहरुले हिन्दुकरणको प्रकृयाका कारणले अपनाउन पूगेको हिन्दू संस्कृतिलाई धमाधम छोड्ने प्रकृया तिब्र हुंदै गईरहेकोले दशैं बहिष्कार लगायतका कारणले बाहुनवादी राज्यसत्ताले साम्प्रदायिक भएको आरोपलगाउने गरेको छ ।
**इशाईकरण: **
नेपालमा विगत ५० वर्ष देखि विस्तारै इशाई धर्मको प्रभाव पर्न थाले पनि विगत १० वर्षमा इशाईकरण तिब्ररुपले अगाडि बढेको छ । पचास वर्ष अघि औंलामा गन्न सकिने इशाईहरु भएकोमा अब चार पांच लाख भन्दा बढिको संख्यामा पुगिसकेको छ । यी मध्य धेरै जसो हिन्दू, खास गरेर दलितहरु र बौद्ध धर्माबलम्बी मान्ने जनजातिहरु धेरै छन् । हिन्दूहरुले विदेशि दातृसंस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु खास गरेर यूनाइटेड मिशन टू नेपाल (यू.एम.एन.), आइ.एन.एफ. र रेड बार्नालाई निरक्षर, गरिव र सोझासाझा नेपाली जनतालाई विभीन्न प्रलोभन दिएर वा भुक्याएर वा पैसा दिएर जबरजस्ती धर्म परिवर्तन गर्ने गरेको आरोप लगाउने गरेका छन् । धादिङ्गको तिप्लीङ्ग र झार्लाङ्ग जस्ता विकट हिमाली भेगमा बस्ने तामाङ्ग देखि काठमाडौ वरपर बस्ने तामाङ्गहरु समेत इशाईकरणवाट प्रभावित छ । यस्ले गर्दा इशाईहरु र बौद्धहरु, इशाईहरु र हिन्दूहरु वीच मेलमिलाप घट्न थालेको महशूस हून थालेको छ । धेरै जसो बौद्ध धर्माबलम्वी जनजातिहरु इशाई हुनूको प्रमुख कारण विरामी पर्दा झांक्रीलाई कालो कुखुरा देखि कालो बोका सम्म चढाउंदा र मर्दापर्दा आर्थिक अवस्थाले धान्ने नसक्ने महङ्गो खर्चको सट्टा इशाई भए पछि विरामी पर्दा संगतिले निको हुने र मर्दापर्दा एकै दिनमा विना खर्च काम टुङ्गिने भएकाले वढि आकर्षित भएको देखिन्छ । जे भए पनि ईशाईकरणको कारणले आदिवासी जनजातिहरुको संस्कृति र परम्परागत जिवन पद्धति तहस नहस हुन पुगेको छ ।
**शिबसेना र पशुपति सेनाको विगविगि:**
बहुदलीय व्यवस्थाको पुनस्र्थापना पछि राज्यले हिन्दू धर्म धारण गरेको फलस्वरुप नेपालमा अतिवादी धार्मिक संगठनहरु खास गरेर शिव सेना र पशुपति सेनाको विगविगि बढ्न थालेको छ । यि दुवै अतिवादी संगठनहरुले कहिले ईश्लाम, कहिले इशाई र कहिले बौद्ध धर्माबलम्बीहरुलाई तारो वनाई जातीय र धार्मिक विद्धेषको विउ रोपि सामाजिक मेलमिलाप खलल पार्ने कामहरु दिन प्रति दिन बढाइरहेको छ । यिनीहरुको गतिविधि यहि रुपमा बढेर जाने हो भने भोली अरु धर्माबलम्बीहरुले पनि आ—आफ्नो सेना, जस्तै बौद्ध धर्माबलम्बीहरुको बौद्ध सेना, कीरांतहरुको कीरांत सेना, ईश्लामहरुको ईश्लाम सेना, इशाईहरुको इशाई सेना बनाउन बाध्य हुनु पर्ने जस्तो देखिन्छ ।
**सामाजिक जिवनमा यथोचित सहभागिता र प्रतिनिधित्वको कमि:**
बौद्ध धर्माबलम्बीहरुको जनसंख्या नै नगन्य प्रतिशतमा देखाइए पछि मूुूुलुकको कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका (प्रतिनिधी सभा र राष्ट्रिय सभा) लगायतका नीति निर्धारणको तहमा यथोचित सहभागिता हुनू पर्ने कुरा अर्थहिन जस्तो देखिन्छ । वास्तविकता यो भन्दा वेग्लै छ कीनभने नेपालमा अझै पनि बौद्ध धर्माबलम्बीहरु बहुसंख्यामा छन् । प्रजातन्त्रमा समानताको कुरा हून्छ र श्री ५ को सरकारले अहिलेसम्म हस्ताक्षर गरेको १८ वटा जती मानवअधिकार सम्बन्धि अभिसन्धि र महासन्धिहरुले दिएको राजनैतिक, सामाजिक, सांस्कृतिक र धार्मिक अधिकारहरु प्राप्त गर्ने अधिकार समेत छ । नीति निर्माण तहहरुमा बौद्ध धर्माबलम्बी र अन्य धर्माबलम्बीहरुको नगन्य उपस्थिती र हिन्दुहरुको मात्र भव्य उपस्थितीले सामाजिक मेलमिलाप सृजना हुनमा बाधा पुगेको छ ।
**नेपालमा सामाजिक मेलमिलापकालागि बौद्धधर्माबलम्बीहरुले अब के गर्नु पर्यो**
सरकारी तथ्यांक अर्थात मिथ्यांकले बौद्ध धर्माबलम्बीहरुको जनसंख्या जे जती न्युन देखाए पनि दैनिक जीवनमा नेपालमा सामाजिक मेलमिलापकालागि बौद्धधर्माबलम्बीहरुले अब शताब्दिीयौं देखि पालिराखेको ँमौनताको संस्कृति” लाई तोड्नु पर्दछ । बौद्ध धर्मले शहिष्णुता ९तयभिचबलअभ० राख्न मात्र सिकाएको छैन अति भएको खण्डमा त्यसको बिरोध गरी मध्य मार्गमा लानू पर्ने आबश्यकता समेत औंल्याएका छन् । नेपालमा माथि छलफल गरिएको मेलमिलापलाई खलवलाउने सवालहरु खास गरि हिन्दू अधिराज्य, बौद्ध धर्म हिन्दू धर्मको एउटा शाखाको रुप, राष्ट्रिय जनगणनामा बौद्ध धर्माबलम्बीहरुको नगन्य संख्या देखाइनु, बाहुनवाद र हिन्दूकरण, शिब सेना र पशुपति सेनाका गलत कृयाकलापहरु र सामाजिक जिवनमा बौद्ध धर्माबलम्बीहरुको नगन्य प्रतिनिधित्व हिन्दू शासकहरुले सृजना गरेको हिन्दू अतिवादको नमूना मात्र नभएर ज्वलन्त उदाहरणहरु नै हुन । विगतमा विभीन्न प्रकारका अधिनायकवादी शासन सत्ताका कारण बौद्ध धर्माबलम्बीहरुले हिन्दू शासकहरुका बिरुद्ध कुनै सशक्त विरोध गर्न नसकी ँधार्मिक शहिष्णुता” देखाउन मदत गरे पनि अव प्रजातन्त्र, समानता र मानवअधिकार बहालीको सन्दर्भमा त्यस्तो नकारात्मक सहिष्णुता नभएर अतिवादीलाई मध्य मार्गमा अर्थात समतामुलक समाजको विन्दुमा ल्याइ राख्न निम्न कार्यहरु गर्न ढिलाई भइसक्यो:
**संगठनको विस्तार र सञ्जालको निर्माण: **
नेपालमा बौद्ध धर्माबलम्बीहरु बहुसंख्यामा रहेको भएता पनि तथ्यांकहरुले अल्पसंख्यामा देखाउने काम भएको छ । ठूलो संख्यामा रहेको भए ता पनि बौद्ध धर्माबलम्बीहरु अहिले सम्म एउटै छाता भित्र संगठिट गर्ने काम अझै पुरा मात्रमा हुन सकेको छैन । तिब्बती बौद्ध धर्म अर्थात लामा धर्म मान्नेहरु मध्ये धेरैजसो हिमालयन बुद्धिष्ट फाउण्डेशनमा र हिनयान वा थेरवादीहरु अहिले सम्म ९२ भन्दा वढि बौद्ध संघ—संस्थाहरु धर्मोदय सभामा र बज्रयानीहरु नेपाल महायान संघमा समेटिन सकेको भए ता पनि अझ अन्य कतिपय बौद्ध संघ—संस्थाहरु सबै तिे भित्र समेटिइसकेको छैन । प्रजातन्त्रमा बहूसंख्या र संगठिट शक्तिको महत्ता बढि हुने भएकोले सम्पुर्ण बौद्ध संघ संस्थाहरु एउटै छाता भित्र समन्वयात्मक रुपमा संगठिट हून सकेकेमा मात्र बौद्ध धर्माबलम्बीहरुले आफ्नो न्यायोचित हक अधिकार वाट बञ्चित रहनु पर्ने छैन । अन्यथा हिन्दू राज्यसत्ता वाट दिन प्रतिदिन थिचो मिचो र अन्याय सहनु पर्ने हुन्छ । त्यसैले तिब्बती बौद्ध, काठमाडौं उपत्यकाको महायान र बज्रयान लगायतका सबै बौद्धधर्माबलम्बीहरुले आफ्नो सञ्जाल निर्माण गर्नु अपरिहार्य छ । यस्तो सञ्जालहरु शहर र शहर नजिकका गाउंहरुमा मात्र नभएर कुना काप्चाका जिल्ला, गाउं र वार्डहरुमा समेत गर्नू आबश्यक छ । केन्द्र र स्थानीय तह विच सूचना र सेवाको आदान प्रदान सहज तरिकाले हुनु पर्दछ ।
यस्तो सञ्जालले बौद्ध धर्मलाई संघमा बस्नेहरु, बौद्ध धर्ममा आस्थावान वुद्धिजीवी, पेशागत समुदाय र सर्वसाधारण नागरिकहरुलाई समेत यथोचित समेटन सक्नु पर्दछ । यस्को अतिरिक्त बौद्ध धर्ममा समेटिन चाहनेहरुलाई पनि आबश्यक सहयोग गर्नु पर्दछ ।
**सामुदायिक विकास कार्य**:
इशाईहरुको एउटा प्रशंसनीय कार्य दिन दु:खि र अशक्तहरुलाई हरेक प्रकारको सेवा गर्नू हो । यस्तो प्रबृत्ति बौद्ध धर्म लगायत अन्य धर्महरुमा कमै भएको देखिन्छ । त्यसैले बौद्ध धर्माबलम्बीहरु पनि दिन दुखि, विरामी, अशक्त आदिका सेवाका लागि औषधोपचार लगायतका स्वास्थ्य सेवा, खानेपानी धारोको व्यवस्था, स्कुल कलेजको व्यवस्था, प्रौढ र साक्षरता अभियान, शिप विकास, चेतना जागरण अभियान, संगठन निर्माण आदि कार्यहरुको थालनी गर्नु अत्यावश्यक छ । फजूल खर्चहरु घटाउनु, विभीन्न सामाजिक—सांस्कृतिक संस्कारहरुमा हुने अनावश्यक खर्चहरु कटौती गर्ने जस्ता कार्यहरु पनि गर्नु आबश्यक छ ।
**सशक्त विरोध प्रदर्शन: **
विगतमा राज्यसत्ताले कहिले गुम्बाहरु बनाउन नदिने र बनाएको गुम्बा भत्काउने गरेकोमा विगत एक दशक देखि यस्तो काम नभएको भएतापनि धर्मनिरपेक्षताको मागलाई लत्याएर हिन्दू अधिराज्यको घोषणा, गौतम बुद्ध जन्मेको पवित्र तिर्थस्थल लुम्बिनीको विकासमा सरकारी पक्षवाट अनावश्यक ढिलाई, बौद्ध धर्माबलम्बीहरुलाई सरकारको तर्फ वाट हूनू पर्ने सहयोगको अभाव, राष्ट्रिय जनगणनामा बौद्ध धर्माबलम्बीहरुको जनसंख्या कम देखाउने गलत कार्य, अतिवादि हिन्दू संघ—संस्थाहरु (विश्व हिन्दू महासंघ, शिव सेना र पशुपति सेना)का अतिवादि कृयाकलाप आदि भईनै रहेको छ । अत: यस्का बिरुद्ध बौद्ध धर्माबलम्बीहरुले सशक्त विरोध प्रदर्शनहरु, आबश्यक परेमा सडकमा उत्रेर भए पनि, गर्नु आबश्यक छ । यस्तो विरोध प्रदर्शन गर्नु बौद्ध धर्मको दर्शन अनुसार अतिवादीका विरुद्ध लडेर मध्य मार्गलाई नै आत्मसात गर्नु हो । विश्व्यापि समुदायले स्विकार गरेका मानवअधिकारका दस्तावेजहरुले पनि हरेक प्रकारको धार्मिक, जातीय, भाषिक, सांस्कृतिक र लैंगिक विभेदहरु भ्एकाले नेपालमा भईरहेका यस्ता विभेदहरुलाई चूपचाप सहनु बौद्ध धर्मको दर्शन अनुसार भएको देखिदैन । राज्यवाट सामाजिक मेलमिलाप बढाउन आफनो दयित्व ईमान्दारीपुर्वक निभाउनु पर्दछ र त्यस्तो नगरेको खण्डमा निरन्तररुपमा दवाव दिई नै रहनु पर्दछ ।
**सन् २००१ को जनगणनामा खेल्नु पर्ने भूमिका:**
आउंदो सन् २००१ अर्थात वि.सं.२०५८ साल जेष्ठ २७ देखि असार ७ सम्ममा लिइने दशौं राष्ट्रिय जनगणनामा बौद्ध धर्माबलम्बीहरुको सही तथ्यांक निकाल्न एकातिर श्री ५ को सरकारलाई निरन्तर दवाव दिईरहनु आबश्यक छ भने अर्कोतिर जनगणनाको दिन घर घरमा आउने गणकहरुले ँतपाईले कून धर्म मान्नू हून्छ?” भनेर प्रश्न सोद्धा बौद्ध धर्माबलम्बीहरुले “बौद्ध धर्म“ भनेर प्रष्ट भन्ने गराउनका लागि धर्मोदयलगायतका विभीन्न बौद्ध धर्माबलम्बी संघ—संस्थाहरुले गाउं र शहर दुवैमा घर घरमा पुगेर चेतना जागरण गर्ने, आबश्यक सूचना दिने आदि कामहरुको थालनी आज देखि नै गर्नु पर्दछ ।
**सामाजिक विभेद हटाउने अभियान:**
बौद्ध धर्माबलम्बीहरुले अरु समुदाय संग मेलमिलाप राख्नु पर्दछ । यस्को अर्थ दलितहरु प्रति जातीय छुवाछूतको व्यवहार लगायतका सामाजिक विभेद र महिलाहरु प्रति लैंगिक विभेद गर्नु हूंदैन । यस्तो विभेद कसैले गरेका भए उनीहरुले यस्तो व्यवहार तुरुन्त परित्याग गर्नु पर्दछ र विभेद नगर्नेे गर्नेलाई सम्झाएर सहि व्यवहार गर्न प्रेरित गर्ने अभियान चलाउनु पर्दछ ।
**निती निर्धारकको तहमा सहभागिता:**
बौद्ध धर्माबलम्बीहरुले राज्यका तिनै अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका र राज्यको चौथो अङ्ग सञ्चार जस्ता राष्ट्रका सम्पुर्ण जनतालाई प्रभावित पार्ने निती निर्धारक तहमा सहभागि हुने वातावरण सृजना गर्नु आबश्यक छ । राज्यले आरक्षण अथवा सकारात्मक विभेदको माध्यम त्यस्तो वातावरण सृजना गर्नू पर्दछ र त्यसो नगरेको खण्डमा बौद्ध धर्माबलम्बीहरुले त्यस्तो माग गर्ने अन्य धर्माबलम्बी र समूहहरु संग मिलेर आन्दोलन चलाउनु पर्दछ ।
**अन्त्यमा**
नेपालमा विभीन्न समुदाय, जात—जाती, भाषा भाषि र धर्माबलम्बीहरु वीच सामाजिक मेलमिलाप खस्कदो स्थितीमा छ । यस्को मूल कारण एकातिर राज्य हिन्दू हुनू, बाहुनवादको हाली मुहाली, ढलीमली र एकाधिकार हूनू, हिन्दू अतिवादिहरुको विगविगि बढ्नु हो भने अर्कोतिर बौद्ध धर्माबलम्बीहरु एउटै सञ्जाल अन्तर्गत संग७ित भएर त्यस्ता अतिवादिहरुले गरेका अन्याय, अत्याचार, शोषण र दमनका बिरुद्ध सशक्त विरोध र संघर्ष गर्नुको सट्टा चुपचाप सहनु पनि हो । बौद्ध धर्मबलम्बीहरुकालागि सुधारवाद र क्रान्ति दुवै अतिवादी मार्ग भएकाले मध्यम मार्ग भनेकै आन्दोलनकारी मार्ग मात्र हो । त्यसैले नेपालका सम्पुर्ण बौद्ध धर्माबलम्बीहरु अब व्युंझनु पर्यो, व्युंझेकाहरुले नब्युंझेकाहरुलाई ब्युंझाउन पर्यो र मध्य मार्ग अर्थात आन्दोलनको माध्यम आफनो हक अधिकारहरु प्रजातन्त्र, समानता र मानव अधिकारका आधारमा उपभोगगरी सामाजिक मेलमिलाप प्रतिस्थापित गरि समतामुलक समाजको निर्माणमा योगदान पुर्याउनु पर्दछ । बौद्ध धर्मको एउटा महत्वपुर्ण सिद्धान्त धर्मचक्रप्रबर्तन अनुसार पनि नेपालमा सामाजिक मेलमिलापका धमिराहरु खास गरि राज्यको हिन्दू धर्म, बाहुनवाद, हिन्दूकरण र एक जात, एक भाषा, एक धर्म, एक संस्कृतिको अन्त्य आबश्यक र अवस्यम्भावि छ । समतामुलक समाज अन्तर्गत सामाजिक मेलमिलाप हासिल गर्न बौद्ध धर्माबलम्बीहरुले सक्दो योगदान दिनु आजको आबश्यकता हो ।
Link:
https://www.facebook.com/photo/?fbid=2898846330151571&set=pcb.2898919150144289