Wednesday, April 15, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home Uncategorized

रार्इहरू कहिलेदेखि लिम्बू भए ?

February 17, 2026
in Uncategorized

January 30, 2021 Everest News Uncategorized 0

काजीमान कन्दङ्वा

काठमाडौं र यसको दक्षिण तथा पूर्वमा पर्ने क्षेत्रहरुमा किरातहरु छरिएर बसेको आजसम्म पनि पाइन्छ । नेपालमा किरातहरुको चर्चा गर्दा सेनहरुको चर्चा गर्नु पनि आवश्यक हुन्छ ।

सेनहरुको राज्य स्थापनाका समयमा जिल राई र अजिल राईको कथा आउँछ । उनीहरु दुवै भाई त्यस समयका स्थानीय राजा कर्मसिंहको सेवा चाकरीमा बाईस वर्षसम्म बसेका थिए । बाईस वर्षपछि जिल राई र अजिल राईहरुले कर्मसिंह राजाको राज्य आफ्नो अधिकारमा पारे । यिनै अजिल राई पछि हिन्दुकृत भएकाले अजिल सेन भए । अजिल सेनको शेषपछि उनका छोरा तुला सेन राजा भई उनले नै मकवानपुरगढीको निर्माण गरेको कुरा सेन वंशावलीमा पाइन्छ । यिनैका पाँचौ पुस्तापछिका सन्तान मुकुन्द सेन बडा प्रतापी राजा भए । यिनीले नै पछि पाल्पा पनि आफ्ना अधिकारमा गरी काठमाडौं पुगेका थिए र पूर्वमा समेत कोशी क्षेत्रमा पर्ने चौडण्डीगढी अधिकार गरी आफ्ना छोरा लेहाङ सेनलाई भाग गरिदिएका थिए । लेहाङ सेनले कोशी पूर्वको विजयपुर गढी विजय गरेको कुरा सेन वंशावलीमा उल्लेख छ भनी बालचन्द्र शर्माले नेपालको ‘ऐतिहासिक रुपरेखा’ मा उल्लेख गरेका छन् ।

यी सेना राजाहरुको सम्बन्ध महेन्द्र राई, विचित्र राई, विश्वाचन्द्र राई, अगमसिंह राई, सिंह राई तथा बुद्धिकर्ण राईहरुसित रहे–भएको देखिन्छ । यी जाति पनि किरातहरु थिए, ती मन्त्रीहरु नै थिए र सेनहरु राजा थिए । तर सेनहरु नाम मात्रका राजा थिए र सम्पूर्ण राज्यमा हाली–मुहाली भने किरात मन्त्रीहरुको चलेको बुझिन्छ । त्यस समयमा यिनीहरूकाे अधिनमा रहेका राज्यलाई ‘मोरङ्ग राज्य’ भनिने गरेको थियो ।

यसरी मवकानपुर गढी, सिंधुली गढी, हरिपुर गढी, चौदण्डी गढी लगायत कोशी पूर्वको विजयपुर गढीसमेत समस्त मोरङ्ग राज्यमा यी किरात मन्त्रीहरुको हाली–मुहाली भएकोले यी क्षेत्रहरु समेत किरात क्षेत्रभित्र परेको कुरो थियो भन्नु पर्दछ । यसै सन्दर्भमा सिलिगुढी, दालिम गढी, जलपाई गढी समेतको बिचार गर्नु पनि युक्तिसंगत नै हुन्छ । यसरी पश्चिमदेखि पूर्वमा आसामसम्म नै किरात क्षेत्र जोडिन पुगेको देखिन्छ । पृथ्वीनारायण शाहको विजय अभियान समेत टिष्टा नदी तरी आसामसम्म नै पुगेको थियो । तापनि सन् १८१५–१६ को नेपाल र अंग्रेजीको बीचमा भएको सुगौली सन्धिपछि भने नेपालको सिमाना मेची नदी कायम हुन आएकोले मेची पूर्वका समस्त क्षेत्र सिक्किम,भोटाङ र हिन्दुस्थानमा गाभिन गयो ।

यसरी अन्य देशमा गाभिन गई बाँकी रहन गएको क्षेत्रलाई प्रशासन र राजस्व असुलीको सुविधालाई ध्यानमा राखी जिल्लाहरुको गठन गर्नुपर्दा मोरङ्गका तराई खण्डलाई पछि अलग्गै जिल्लाहरुमा विभाजन गरियो भने पहाड खण्डलाई ‘किरात क्षेत्र’ भनियो । यो किरात क्षेत्रको प्रशासन धनकुटा गोश्वाराबाट हेरिने गरेको र मालपोत तथा राजस्व असुलीका निमित्त भने– ९१० वल्लो किरात ९२० माझ किरात र ९३० पल्लो किरात भनी तीन क्षेत्रमा विभाजन गरियो ।

आजभोलि पनि काठमाडौंदेखि पूर्व मेचीसम्मका पहाड खण्डलाई किरात क्षेत्र कोशीदेखि पूर्वलाई मोरङ्ग र कोशी पश्चिमका समतल क्षेत्रलाई तराई भनिने गरेका भएता पनि सिल्वा लेभिले आफ्नो पुस्तक ‘ला नेपाल’ मा पाद्री जर्जी (Georgi) ले सम्पादन गर्नु भएको क्यापुचिन पाद्रीहरुबाट लिइएको नेपाल तिब्बतको सम्बन्धको विवरणमा बेतिया र काठमाडौंको माझमा अथवा नेपाल र बेतियाको माझमा मोरङ्ग राज्य भएको र त्यसको मुख्य केन्द्र मकवानपुर गढी र हेटौंडा एउटा मुख्य बजार भएको कुरा उल्लेख गरिएको छ ।

यसका साथै मोरङ्ग राज्यले मुगल राज्यलाई रु। २,५०,००० र ७ (सात) वटा हात्ती वार्षिक नजराना समेत बुझाउने गरेको थियो । त्यस समयमा मोरङ्गको राजनधानी ‘राडोक’ थियो भनी लेखिएको छ । इमान सिंह चेम्जोङ्ज्यूले यसैलाई वर्षा राजदरबार र शान गढीलाई हिउँदे राजदरबार थियो भनी लेखेका छन् ।

यसबाट पृथ्वीनारायण शाहको विजयकाल भन्दा अघि मोरङ्ग राज्यको छुट्टै अस्तित्व भएको वोध हुन्छ । सोही मोरङ्ग राज्यमा नै सेन वंशको अधिपत्यमा रहेको देखिन्छ । यही मोरङ्ग राज्य नै पृथ्वीनारायण शाहको कालसम्म अस्तित्वमा रहेको र सोही मोरङ्ग राज्य अन्तर्गत पूर्वका पहाड तथा समतल क्षेत्र जसलाई त्यसबखत ‘किरात क्षेत्र’ भनिन्थ्यो, समावेश भएको कुरा सेन राजाहरुको विभिन्न चिठ्ठी–पत्र, लालमोहर, वंशावली तथा विभिन्न ऐतिहासिक घटनाहरुबाट स्पष्ट भइराखेकै छ ।

यसरी पृथ्वीनारायण शाहको समयभन्दा अघि स्वतन्त्र मोरङ्ग राज्य रहेको र किरातहरु एउटा स्वतन्त्र र प्रभावशाली जाति भएको कुरो समेत इतिहासकारहरुले उल्लेख गरिराखेका छन् । यसरी पृथ्वीनारायण कालसम्म मोरङ्ग राज्यका पहाड वा समतल खण्डमा किरातहरुको प्रभुत्व रहेको कुरा स्पष्ट हुन्छ ।

माथी नै लेखिएको छ कि मोरङ्ग राज्यको समतल क्षेत्रलाई तराई भनियो र पहाड खण्डलाई किरात भनियो र किरात क्षेत्रलाई ९१० वल्लो किरात ९२० माझ किरात ९३० पल्लो किरातमा विभाजन गरिएको छ । अझ पछि गएर भने वल्लो र माझ किरातलाई ‘खम्बुवान’ । पल्लो किरातलाई ‘लिम्बुवान’ भन्न थालियो । अब यो लिम्बुवान र खम्बुवान भनी नामाकरण कसरी हुन आयो ? यो प्रश्न बडो जटिल छ । यो खोजीको विषय पनि हो ।

किरात क्षेत्रमा बस्ने किरातहरु पछि आएर ‘राई’ भएको देखिने कुरो त माथि नै लेखिएको सेन वंशावलीका जिल राई र अजिल राईको प्रसङ्गले पनि देखाइएको छ भने राईहरुका र लिम्बूहरुका वंशावली जो प्राप्त छन्, तिनीहरुबाट समेत स्पष्ट हुन्छ । तर, यहाँ अब गहिएर बुझ्नुपर्ने र ध्यान पुर्याउनुपर्ने कुरो के छ भने किरातबाट राई भएका राईहरु लिम्बू कसरी हुन पुगे ? आजका लिम्बूहरुकाे प्राप्त छुटफुट वंशावलीहरुलाई हेर्दा आजभन्दा ७ पुस्ताअघि कन्दङवाहरुको पुर्खा टटुवा राई, याङ्द्वा राई तथा पोना राई थिए । आजभन्दा ८ पुस्ताअघिका मेवाङबो, आङबुहाङहरुका पुर्खाहरु नामित राई, मुगाम राई, चन राई, खन राई, सीन राई, ताला राईहरु थिए । त्यस्तै आङदम्बे, लौती, इङनाम, तुम्वापो, शेर्माहरुका पुर्खाहरु कोच राई, राज राई, ओम राई, पाना राईहरु थिए । थाम्सुहाङ तथा जवेगुका पुर्खा क्वाव राई, लाङभो राई तथा मिफोन राईहरु थिए । थाम्सुहाङ तथा जवेगुका पुर्खा क्वाव राई, लाङभो राई तथा मिफोन राईहरु थिए । यिनीहरु कोही ७ पुस्ता, कोही ९ र १० पुस्ता मात्र अघिका वा आजका १५०–२०० वर्ष अघिका हुन् ।

यसरी आजभोलि लिम्बू भनिने समस्त पुर्खाहरु राई देखिन्छ । पृथ्वीनारायणको विजयपछि भने यी राईहरुलाई अरुण पश्चिम साविकै राई भनिएको र अरुण पूर्वका राईहरुलाई नै लिम्बू भनिएको देखिन्छ । त्यतिमात्र नभई मकवानपुर गढी, हरिणपुर गढी, सिन्धुली गढी, चौदण्डी गढी तथा विजयपुर गढीका प्रभावशाली मन्त्रीहरु समेत राईहरु नै छन् । विचित्र राई, विखाचन्द्र राई, अगमसिंह र बुद्धिकर्ण राईहरु नै यस क्षेत्रका हाली–मुहाली चलाई आउने मन्त्रीहरु भएको कुरो इतिहाससम्मत नै छ ।

उनीहरुको राज्य नेपालमा मिलेको सन् १७७४ मा भएकोले त्यस समयसम्म पनि यस क्षेत्रका वासिन्दाहरुलाई नै ‘ राई ’ भनिदैँ थियो भन्ने देखिन्छ ।

त्यतिमात्र होइन रणबहादुर शाहबाट वि.सं। १८४१ तथा इस्वी सन् १७८३–८४ ताका भएको चिठ्ठी मोहरमा ‘उप्रान्त सुखिमपतिको, हकिकत, सुधारेका हकिकत, गजदल राईको हकिकतको खबर विस्तार विन्ती गरी पठाएछौँ मालुम भयो’ भनी श्री भर्तधन राई, श्री देवफागो राई, श्री आतहाङ पङ्मागु राईहरुको नाममा लेखिएको चिठ्ठी मोहरका साथै सन् १७८३ ताका सिक्किमसित युद्ध गर्नका निमित्त जिम्मा लगाइएकाे हतियारहरुको लगत तपसीलका नाममा यसरी दिइएको छ ।

यसरी सन् १७८३–८४ ताकासम्म पनि किरातहरुलाई नै भनिने गरेको स्पष्ट छ । उपर्युक्त राईहरुलाई ‘सुब्बा’ दर्जा प्राप्त भएपछि पनि थर लेखी त्यसपछि ‘राई’ लेखिने वा सुब्बा लेखी नामको पछि ‘राई’ नै लेखिने गरेको स्पष्ट छ ।

अब यहाँ यी राईहरु कसरी ‘लिम्बू’ भनिए भन्ने कुरातर्फ विचार गर्न पर्दा सबैभन्दा पहिले लिम्बू शब्द कहिले कुन मितिमा प्रयोग भयो भन्ने कुरा सोच्नुपर्ने हुन्छ । यसरी हेर्दा इ। सन् १७७४ अथवा संवत १८३१ मा श्री ५ पृथ्वीनारायण शाहबाट बक्सेका ३ लालमोहरहरुको चर्चा गर्न आवश्यक छ ।

यी तीनमध्ये पहिलो संवत् १८३१ वदी ३० मा स्वस्ती श्री राजभारासामर्थ श्री जङ्ग, राय, श्री फुङ राय, श्री जमुन राय, के सब लिम्बू राय आशिष‘‘‘

पूर्व पत्र मित्रम् । यहाँ कुशल ताहाँ कुशल चाहिय । आगे यहाँको समचार भलो छ । उप्रान्त तिमीहरूलाई हिजो जति पिछा बक्सिएको त्यो मुलुक आजा हाम्रो प्रतापले हाम्रो भयो त तिमीहरु पनि हाम्रै भयौ । तिमीहरुका जहानपिछा हामीले लियौं । जस जसको जग्गा जम्मा गराई दबाई खाई पाई आएका थियौं सो सकल मुलुकको सम्भार गर अरु नौ लाख राई पट्टी होइन । क्या अर्थले हो भन्या अरु राजालाई मास्ने हो । तिमीहरु आफ्ना भाइ वा लिम्बू घराई लिइकन अब पिछा बक्स्यो। इति संवत् १८३१ साल बैशाख वदी ३० रोज शुभम् ।

स्वस्ती श्री राज भारक सामर्थ श्री जङ्ग राय, श्री फुङ्ग राय, श्री जमुन राय के साथ लिम्बू राय के आशिष

उपर्युक्त लालमोहर विशेष उल्लेखनीय र महत्वपूर्ण छ । किनभने यसैमा प्रथम पटक ‘लिम्बू’ शब्दको प्रयोग भएको छ । यसको प्रथम दफामा विभिन्न राईहरुको नामको नाम उल्लेख गरी ‘सब लिम्बू रायके’ भनी सम्बोधन गरिएको छ ।

यस प्रयोगबाट ‘सबै लिम्बू र सबै राई’ भन्ने बुझिदैन । तर ‘सबै राई नै लिम्बू’ भन्ने बुझिन्छ । अथवा राई र लिम्बू दुई जात अलग भन्ने हो भन्ने नबुझिइ राईहरु नै लिम्बू एउटै जात भन्ने बुझाउँछ ।

अझ तल पेट बोलीमा ‘अरु नौ लाख राई पट्टी होइन’ भन्ने भएकाले नौ लाखलाई अलग, तिमीहरु अलग भन्ने कुरा राखी यो अलग गर्नुपर्ने कारण ‘क्या अर्थले भन्या अरु राजालाई मास्ने हो’ भनी राई नै भएता पनि अरु राजा मासिने तिमीहरु नमासिने हौं भन्ने स्पष्ट गरिएको छ । अब तिमीहरु नै राई भएता पनि नमासिने भएकाले तिमीहरुलाई आफ्ना भाई (बन्धुविरादर) भयौ र तिमीहरुलाई बन्धु भएकाले राईभन्दा अलग लिम्बू भयौ वा तिमी राईहरुलाई अब उप्रान्त लिम्बू गरायौं र पिछा बक्स्यौ भन्ने कुरा स्पष्ट गरिएको छ । ‘तिमीहरु आफ्नो भाइ वा लिम्बू घराई लिइकन पिछा बक्स्यौ’ भनेबाट उपर्युक्त कुरा स्पष्ट हुन्छ ।

यसरी यही लालमोहर भएपछि समस्त राईहरुमध्ये अरुण पूर्वका राईहरुलाई ‘लिम्बू’ भनिन थालिएको हो भन्ने देखिन्छ । यस्तै, राईलाई लिम्बू भनिएको संवत् १८३० श्रावण सुदी २२ रोजा २ को अर्को लालमोहरलाई किरातीहरुले ‘तसल्ली मोहर’ कतिले ‘सन्धि मोहोर’ समेत भन्ने गरी आएका छन् ।

श्री ५ पृथ्वीनारायण शाहबाट भएको लालमोहरमा ।

स्वस्ती श्री आगे राजाभारा सामर्थ श्रीशुभराय, श्रीकुमराय, श्रीजङ्गराय, अरु बसै गैहृ ‘लिम्बू’ रायको पूर्ण मोहोरको पत्र यथोचित–

उप्रान्त मिला मिलन्तमा यदाको लागि त्यहाँलाई कुशल चाहियो । मेरो धर्म मन भलो छ । तिमीहरु हिजो पनि पिछा बक्सेका बस्केका हौ तिम्रा मुलुक हाम्रा प्रतापले हाम्रो भयो । तिमी तुतु तुम्माङ भाक्हाङ सन्तान हौं । आज त्यो मुलुक हाम्रो भएता पनि तिमीहरु हाम्रै हौ । तिम्रा जहानका पिछा हामीले लियौँ । जस जसले जे जे तिम्रा खाइन–पाइन र लुङमाङ गढ सिङमाङ गढ शुद्धलाई सब खतबाट शुद्ध गरी खानामा हिजोका तिम्रो मुलुकभित्रका सबै थामी बक्स्यौं ।

तिमीहरु हाम्रा भारदारहरुसित सामेल रहू र मदत सघाई हिजो आफै आफ आपुङ्गी बसी आए बमोजिम त्यो मुलुकको सम्भार गरी जिमीभूमि रहिञ्ज्याल तिम्रा शाखा सन्तान तक भोग्य गर ।

अरु नौ लाख राई पट्टी तिमीहरु होइन के अर्थले हो भने राजा मासिने हुँदा तिमीहरु राजा नै भनिने नमासिने हौ ।

तर कुराको विस्तार तिम्रा नाभीमा बसेकाले तिभले तिनले गर्यो ।

सुखिमको र हाम्रो घान भएको हो । हाम्रो भलो मानिस र चौधरीले बोल कुरा गरी गएको छ । उनैबाट कुराको विस्तार बुझौला मिली तिमीहरुको आफै आम अपुङ्गी खाइन–पाइन माथि लेखे बमोजिम जिमीभूमि जानी चलन गरी खानू ।

हामीले खोसे–मासे मानी पुजी ल्याएको देउताले हाम्रो राजकाल भङ्ग गरोस् भन्या तावापत्रको तसल्ली मुलुकी लाल मोहर बाँधी माथि लेखिने लिम्बू कूल भाइलाई दियौँ । इति संवत् १८३१ साल मिति श्रावण सुदि २२ रोज वार मुकाम कान्तिपुर राजधानी शुभाय शुभम् ।

स्वस्ती श्री आगे राजभारासामर्थ श्रीशुन राय, श्रीकुम राय, श्रीजंग राय, अरु सबै गैह् ‘लिम्बू’ रायकै पूर्ण मोहोरको पत्र यथोचित ।

उप्रान्त मिला मिलन्तम् । यहाँको लागि तहाँलाई कल चाहियो । मेरो धर्म मन भलो छ । तिमीहरु हिजु पनि पिरा बक्सेका हौ । तिम्रा मुलुक हाम्रा प्रतापले तिमी तुतु तुम्याङ याकहांग सन्तान हौं । आज त्यो मुलुक हाम्रो भएतापनि तिमीहरु हाम्रै छौं । तिम्रा जहानका पिछा हामीले लियौँ । जजसको जे जे तिम्रा खाइन पाइन र लुङ वाङ गढ सिङ वाङ गढ अशुद्धलाई सब खतवात सभा शुद्ध गरी खानमा हिजोका तिम्रो मुलकभित्रका सबै थामी बक्स्यौँ ।

तिमीहरु हाम्रा भारदारहरुसंग शामेल रही मदत सघाई हिजो आपै आपुंगी बसी आएबमोजिम त्यो मुलुक सम्भार गरी जिमीभूमि रहिञ्ज्याल तिम्रा शाखा सन्तानतक भोग्ये गर ।

अरु नौ लाष कै पट्टी तिमीहरु होइन । के अर्थले हो भन्या अरु राजा मासिने हुँदा तिमीहरु राजा नै भन्ने नमासिने हौ । यो तिमीहरुको नीति हामीले जानेको छ । तर कुराको विस्तार तिम्रा नाभिमा बसेकाले तिनले गर्यो । सुखीम र हाम्रो घा नभएको हो । हाम्रो भलो मानिस र चौधरीले बोल कुरा गरी गयाको छ । उनीबाट कुराको विस्तार बुझौला । मिली तिमीहरु आप आपुंगी खाइन पाइन माथि लेखेबमोजिम जिमी भूमि जानी चलन गरी खानू । हामीले खोसे मासे मानी पुजी ल्याएको देवताले हाम्रो राजकाज भंग गरोस् भन्या तांबापत्रको तसली मुलुकी लालमोहर बाँधी लेखिने लिम्बू कुल भाईलाई दियौं । इति संवत् १८३१ साल मिति सुदी २२ रोज २ वार मोकाम कान्तिपुर राजधानी शुभाय शुभम् ।

(कन्दङवाको लेखमा नभएको यो शब्दावली इमानसिंह चेम्जोङ्गको पुस्तक ‘किरातकालिन विजयपुरको संक्षिप्त इतिहास’ पृष्ठः १५५ र १५६ बाट लिइएको हो । पाठकलाई सजिलो होस् भन्नका लागि यो शब्दावली थपेका हौं । चेम्जोङ्गको संकलनमा रहेको लालमोहरमा महिना उल्लेख छैन । तर पनि सोही पुस्तकको पृष्ठ १५६ मा उल्लेख गरेअनुसार– ‘यो आदेश अनुसरण गरी शेरिग लिम्बुको नेतृत्वमा अरु चार किराती आपुंगी राजा फेदापका आतहांग राय, मेवा खोलाको श्रीदेव राय, मेवा खोलाको रैनसिह राय र तम्बर खोलाको शुभवन्त रायहरु एकमत भै गोर्खा राजमा विजयपुर आई संवत् १८३१ साल भाद्र महिनामा सामेल भए’ भनिएको छ । यसको अर्थ विद्वान लेखक काजीमान कन्दङ्वाले उल्लेख गरेको मिति इति संवत् १८३१ साल मिति श्रावण सुदि २२ रोज २ वार नै सही देखिन आउँछ । – सम्पादक)

यसमा पनि श्रीसुन राई, श्रीकुम राई, श्रीजङ्ग राई नाम लेखी, अरु सबै ‘गैहृ लिम्बू राईके’ भनेबाट राईहरुलाई नै लिम्बू भनी लेखिएको देखिन्छ । यसको पेट बोलीमा समेत राई राजाहरु मासिने भएको कुराको उल्लेख छ र तिमी लिम्बूहरु ‘नमासिने’ राजा नै भनिने भएकाले तिमीहरु हाम्रा कुल भाई भयौ भनी राईहरु मध्ये अरुण पल्लो किरातको राईलाई फुटाई कूल भाइमा दरि ‘लिम्बू’ भन्ने गरेको स्पष्ट छ ।

यसरी केही कालसम्म ‘कूल भाइ’ मा दरिएका राईहरुलाई ‘लिम्बू राई’ भनिएको कुरो लालमोहरुहरुबाट देखिन्छ । पछिपछि ‘लिम्बू राई’ लेखिन छोडी ‘लिम्बू’ मात्र लेखिन थालेको देखिन्छ ।

श्री ५ पृथ्वीनारायण शासनबाट बक्सेको सम्बत् १८३१ भाद्र वदी ५ रोज ६ मुकाम कान्तिपुर राजधानीबाट लेखिएको अर्को तेस्रो लालमोहरमा भने माथिकै झै ‘लिम्बू राई गैहृ के आशिष’ लेखिएको छ । र पेट बोलीमा ‘ तिमीहरु त्यस देशका भलो मानिस हौ । तिमीहरुले हिजोदेखी पनि राजै मानिआएका थियौ । राजाका मास पलासमा हिजो पनि पस्नैथ्यौ । आज पनि नासमा पस्यौन भनी हामीले सोही बुझिकन तिमीहरुलाई पिछाको मोहर पनि बक्सी पठायौं । जब तक लिम्बूवान छ, लिम्बूवानलाई पिछा बक्स्यौँ भनी भारदारहरुलाई अहृाई पठायौँ । आज तिमीहरुलाई पिछा लिएको छ । अर्को तरह नमान’ भन्दै ‘तिमीहरुलाई सुन चुरा शिर पाउ भनि बक्सौँला । ताहाँ हाम्रा भारदारहरुका सम्मतले मुलुकको सरसम्भार पनि गर । तमरमा साँघु पनि हाल । तिम्रा खाइन पाइन भर भरोत पर्या सबै थामिबक्स्या छ । आफ्ना खातिरजामसित जग्गा सम्भार गर । इति सम्वत १८३१ मिति भाद्र त्रदी ५ रोज ६ मुकाम कान्तिपुर राजधानी । ’ लेखिएको छ ।

स्वस्ती श्री सर्वोपमायोग्येत्यादि राजभारसामर्थ श्री नन्दु राय, श्री जमुन राय गैहृ लिम्बू रायके आशिष–यहाँ कुशल तहाँ कुशल चाहिये–आग्ये यहाँको समाचार भलो छ ।

उप्रान्त तिमीहरु तेस देशका भलो मानिस हौ । तिमीहरुले हिजो देखी पनि राजै मानि आए थियो राजाका नास पलासमा हिजो पनि पसेनथ्यौ आजपनि नासमा पस्यौन भनी हामीले सोही बुझीकन तिमीहरुलाई पीछाको मोहर पनि बक्सी पठायौ । जब त लिम्बुवान छ लिम्बूवानलाई पीछा लेउ भनी भादारहरुलाई अहृाई पठायौं । आज तिमाहरुलाई पीछा लियाको छ । अर्को तरह नमान । तिमीहरुलाई सुन चुरा सिर पाउ पनि बक्स्याला । तहाँ हाम्रा भारादारहा सम्मतले मुलुकको सर सम्भार पनि गर । तमरममा साँघु पनि हाल । तम्रा खाइन पाइन मर मरोत पर्या सबै थामी बक्स्याको छ । आफ्ना खातिर जामासित जग्गा सम्भार गर । इति संवत् १८३१ साल मिति भाद्र वदी रोज ६ मोकाम कान्तिपुर राजधानी शुभम् ।

(कन्दङ्वाको लेखमा नभएको यो शब्दावली इमानसिंह चेमजोंगको पुस्तक किरातकालिन विजयपुरको संक्षिप्त इतिहास पृष्ठः १५६–१५७ बाट लिइएको हो । पाठकलाई सजिलो होस् भन्नकालागि यो शब्दावली थपेका हौं)

यसमा पनि राजभारा सामर्थ श्रीनन्द राय, श्रीजमुना राय ‘गैहृ लिम्बू राय’ नै लेखिको छ । पेट बोलीमा ‘जबतक लिम्बूवान छ लिम्बूवानलाई पिछा लियौँ’ भनेर पहिलो पल्ट ‘लिम्बूवान’ भनी प्रदेशको नाम उल्लेख भएको छ । यसबाट ‘लिम्बू राई’ पछिमात्र लिम्बू रहेको उनी र उनीहरु बसोवास गरेको क्षेत्रलाई ‘लिम्बूवान’ भन्ने गरेको देखिन्छ । केही पछि भने ‘लिम्बूवान’ भनी प्रदेशको नाम उल्लेख भएको छ ।

केही पछि भने ‘लिम्बूवान’ क्षेत्रको सीमाना तोकी अरुण पूर्व मेची पश्चिम भन्ने गरेको (सम्वत १८८७ श्रावण वदी ११ को रुक्का मोहरबाट) देखिएको छ भने त्यसैलाई केहीपछि सम्वत १९१८ आश्विन वदी ३० देखि ‘जिल्लै पल्लो किरात’ भन्ने गरेको देखिन्छ ।

यसरी पल्लो किरातका लिम्बूहरु राई नै भएको कुरा स्पष्ट भएर आउँछ । श्री ५ पृथ्वीनारायण शाहको समय पश्चातमात्र राईहरुबाट अलग गर्नका निमित्त ‘लिम्बू’ भनिएको देखिन्छ । यसैले आजभोलि लिम्बू र राई अलग देखाउने जो प्रक्रिया छ, त्यो इतिहासको आधारमा गलत प्रक्रिया भएको र त्यसमा निहित स्वार्थ लुकेको देखिन्छ ।

स्थानीय किरातहरु समेतमा पनि आफूआफू अलग भएको र सोही दाबी गर्न थालिएका कुरा आफ्नो इतिहास थाहा नभएको करणले मात्र हो भन्नु पर्दछ । आजभोलिका लिम्बूहरु पनि यतामात्र लिम्बू भन्न थालियो र पल्लो किरात भनिने क्षेत्रलाई समेत लिम्बूवान भन्न थालियो । यसरी लिम्बू भने पनि राई भने पनि उनीहरु एकै हुन्, फरक छैन भन्ने कुरा उपर्युक्त प्रमाणहरुबाट स्पष्ट हुन्छ ।

यसरी लिम्बू भएको कुरो स्पष्ट हुन्छ भने ‘खम्बू’ कसरी भयो भन्ने अर्को प्रश्न आउँछ । लिच्छविहरुको राज्य स्थापना भएदेखि पहाडी किरातीहरु काठमाण्डौं दक्षिण ललितपुर हुँदै मकवानपुरतर्फ एक समूह झरेको कुरो सेनहरु जिल राई र अजिल राईकै सन्तान भएको कुराले स्पष्ट पारेको छ । अर्को हुल जो पूर्वतर्फ लाग्यो तिमीहरुले धेरै कालसम्म भक्तपुरमा बसोबास गरे । त्यसैले भक्तपुरको पौराणिक नाम खृपृङ, खृपृमव्रुमा, खोपृम, खोप्व हुँदै खोबुम हुन गयो । यिनै खोप्व वा खोबुमका वासिन्दाहरु नै शनैःशनैः पूर्वतर्फ ठेलिएर गए । खोबुमबाट पूर्वतर्फ ठेलिएर गएका किरातहरूले आफ्ना भाषामा आफूलाई ‘खोबुम्वा’ भन्न लागे । यही खोबुम्वा कालान्तरमा ‘खाम्वोङवा’ को रुपमा प्रयोग हुन थाल्यो र समस्त किरात क्षेत्रका किरातहरु ‘खाम्वोङ्वा’ भए । खाम्वोङवा भनेका यिनै किरातहरुलाई पृथ्वीनारायण शाहकालपछि ‘खम्बू’ भनी लेख्न र भन्न थालेका हुन् । उता इतिहासकारहरुले भने खाम्वोङ्वाको अक्षरसः उल्था गरी यिनीहरु ‘भूई फुट्टाहाङ हुन्’ भनी लेख्न थाले । भुइँफुट्टाहरु यसरी जमिनबाट साझै उब्जिएका वा उम्रिएका होइनन् । यिनीहरु भक्तपुरबाट पूर्व लागेका र भक्तपुरलाई अगाडि ‘खोबुङ’ भन्ने गरिएकाले, धनकुटाबाट अन्यत्र जानेलाई धनकुटे भने जस्तै खोबुङबाट बसाइँ सरी जानेलाई किरात भाषामा खाम्बुवा हुँदै आम्वोङ्वा भन्न पुगेको हो भन्ने कुरा बढी तर्कसम्म छ ।

खाम्वोङ्वा भन्नाले त्यस बखत हालका लिम्बू र राई दुवै बुझिने गरेको थियो । यसैले खाम्वोङ्वाहरु जो पहाडमा बस्दथे, उनीहरु ‘याक्थुम्बा’ (पहाडे) भनिए र जो मधेसमा बस्थे, उनीहरु ‘वाखोम्वा’ (मधिशे) भनिए । याक्थुम्बा भन्नाले आजभोलि लिम्बुसुन भन्न थालिएको देखिन्छ । तर, यो गलत प्रयोग हो ।

यसरी खाम्बोङवाहरुको जो अरुण पश्चिम बसे उनीहरुलाई मुखसुखका लागि वा जिब्राको सजिलोको लागि संस्कृतवाजहरुले ‘खस्बू’ भनिदिए र ती नै खाम्वोङ्वा जो अरुण पूर्वतर्फका वासिन्दा थिए । तिनलाई तीनै संस्कृतवाजहरुले मुखसुखका लागि ‘लिम्बू’ भनिदिएका हुन् ।

वास्तवमा लिम्बू नामाकरण ‘लुम्मासुम्मा’ भनेको कञ्चनजंगा हिमालयलाई किरात भाषामा त्यसो भन्ने गरेको र त्यसैलाई ‘लिम्बुश्रृङ्गम’ भनी संस्कृतवाजहरुले श्री ५ पृथ्वीनारायण शाहलाई विन्ती विस्तार गरी युद्ध क्षेत्रबाट श्री अभिमान सिंह, श्री पारस भण्डारी, श्री कीर्ति सिंह खवास, श्री बलि बानियाहरुले सम्वत १८३१ सालको सुरु वा १८३० सालतिर लेखी जाहेर गरी पठाएकोले नै लिम्बुश्रृङ्गममा बस्ने वासिन्दाहरुलाई लिम्बू भन्ने गरिआएको देखिन्छ । यसरी इमान सिंह चेमजोङको ‘धनुले जितेर लिएको ठाउँ भएकोले लिम्बुवान र लिम्बू भएको’ भनाइ युक्तिसङ्गत देखिन आउँदैन र श्री प्रेमबहादुर माओहाङले लेखेजस्तै ‘लिमकहाङका सन्तान लिम्बू हुन्’ भन्ने कुरा समेतले मेल खाँदैन । यसैले ‘लिम्बुश्रृङ्गम’ वा बुम्वासुम्वा हिमालकै नामबाट लिम्बू लिम्बूवानको नाम बस्न गएको कुरा सम्भव देखिन्छ । धनुकाँडले हानेर लिएको जग्गा लिम्बुवान र त्यहाँका वासिन्दा त्यसैले लिम्बू मानेका खण्डमा वालिमुकहाङको सन्तान लिम्बू भएको कुरालाई मान्ने हो भने पृथ्वीनारायण शाह कालभन्दा अघि नै कुनै न कुनै रुपसँग कहीँ कहीँ लिम्बू उल्लेख भएको हुनुपर्छ, जुन कुरो आजसम्म पाइएको छैन ।

यसैले लिम्बू र खम्बू हालैको उपज मात्र हो । यी शब्दहरुको प्रयोग पौराणिक ग्रन्थहरु कुनैमा आएको छैन । पौराणिक ग्रन्थमा त किरातको उल्लेख छ र त्यसभन्दा पछाडी भनेको सनद, सवाल, चिठ्ठी लालमोहरसम्ममा भने राई भनी उल्लेख भएको देखिन्छ । यसरी प्रस्ट हुने कुरा के भने लिम्बू भने पनि राई भने पनि याक्थुम्बा नै भने पनि ती एकै हुन् र किरातहरु नै हुन् यसमा कुनै सन्देह छैन ।

(काजीमान कन्दङ्वाकाे यो लेख काठमाण्डौंबाट प्रकाशित हुने छहरा साप्ताहिक (वर्ष १० अंक २–वर्ष १० अंक २५ सम्म) बाट लिइएको हो)
About Everest 
ShareTweet

Related Posts

Uncategorized

सिलाम साक्माको राष्ट्रिय चर्चा

March 26, 2026
Uncategorized

निर्वाचन विशेष 3

March 2, 2026
Uncategorized

निर्वाचन विशेष 2

March 2, 2026
Uncategorized

किरांत राजा बुढाहाङ /बुढानिलकंण्ठ

September 15, 2022 Everest News Uncategorized 0 किरात राई बान्तवा समुदायको पुर्खाहरूको एउटा कथनअनुसार मल्ल र शाहबंशिय राजाहरूले किरांत राजा बुढाहाङलाई युद्धमा हराउनु...

February 18, 2026
Next Post

किरात राई यायोक्खा बेलायत “संघात्मक प्रणाली”मा

संसद विघटन बदर गर्ने सर्वोच्चको ऐतिहासिक फैसला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In