कार्तिक २५ । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–३ उबू, सोदुका २२ वर्षीय प्रख्यातहरि क्याम्पा राई हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित पालुङबारीमा सुनकोशी नदीमा मृत फेला परेका छन्।
स्थानीयले कात्तिक २४ गते राति नदीमा अज्ञात शव देखेपछि च्यास्मिटार प्रहरी चौकीलाई खबर गरेका थिए। प्रहरी र मृतकका बुबा प्रकाशहरि क्याम्पा राई घटनास्थल पुगेपछि शवको पहिचान भएको हो।
परिवारका अनुसार राई गत कात्तिक ४ गते विजयादशमीको दिन मानेभञ्ज्याङ–६ जाग्मास्थित फूलबारी क्लबले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा जाने भन्दै राति साढे ९ बजे घरबाट निस्किएका थिए। तर, उनी कार्यक्रमस्थल नपुगी खोटाङ र ओखलढुङ्गा जोड्ने जयरामघाटस्थित झोलुङ्गे पुलबाट राति १ बजेर ४३ मिनेटपछि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले पुष्टि गरेको थियो।
परिवार स्रोतका अनुसार राईको बाहुनीडाँडाकी एक युवतीसँग प्रेम सम्बन्ध रहेको र करिब ६ महिनाअघि नै सम्बन्ध टुटेको थियो। विछोड भएपनि उनले अर्की किशोरीमार्फत युवतीलाई भेट्न पुलमा आउन सन्देश पठाएको बताइएको छ। तर, निज युवती अस्वस्थताका कारण कार्यक्रममा नगएको र राईलाई भेट्न पनि नआएको स्रोतले जनाएको छ।
यस घटनाबारे हर्कपुर प्रहरी चौकीले प्रारम्भिक अनुसन्धान गरिसकेको छ भने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले थप अनुसन्धान गरिरहेको छ। राईसँग सम्पर्कमा रहेकी युवतीसहित केही युवालाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर सोधपुछसमेत गरिएको छ।
छोरा सम्पर्क विहीन भएपछि परिवार तथा आफन्तले धेरै खोजी गरे । कही फेला नपरेपछि प्रहरी चौकी हर्कपुर ओखलढुङ्गाको सहयता लिए । घर परिवार र प्रहरीको खोजीले सम्र्क विहीन युव फेला नपरेपछि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा मार्फत विपद् व्यवस्थापन क्याम्प खुर्कोट र शस्त्र प्रहरी नेपाल मनसुन प्रतिकार अस्थायी सुरक्षा बल कर्हपुरको टोलीले खोटाङ र ओखलढुङ्गा जोड्ने जयरामघाटदेखि खोटाङ र उदयपुर जोड्ने राइघाटसम्म खोजी गरेको थियो। अहिले फेला परेको शव गोताखोर टोलीले खोजी गरेको स्थानभन्दा केही तल भेटिएको बताइएको छ।
शव पोस्टमार्टमका लागि ओखलढुङ्गा लगिने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी उपरीक्षक राजबाबु महर्जनबताउनु भयो । स्थानीयले घटनालाई शङ्कास्पद भन्दै निष्पक्ष छानबिन र न्यायको माग गरेका छन्। प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान गरी दोषी देखिए कानुनअनुसार कारबाही गरिने जनाएको छ।




