आजकै दिन बंगबन्धु शेख मुजिबुर रहमान र उनको सम्पूर्ण परिवारको हत्या भएको थियो । सो आमहत्यामा उनको नजिकका आफन्तहरु पनि छोडिएको थिएन ।
आज १५ अगष्ट, हुन त आजको दिन भारतको स्वतन्त्रता दिवसका रुपमा लिने गरिन्छ । लामो समयसम्म अंग्रेजबाट शासित भारत १४ अगष्टको मध्यरात स्वतन्त्र भएको थियो । सो दिल्लीको समयको मध्यरात पाकिस्तानमा १४ अगष्ट नै भएको हुँदा पाकिस्तानले १४ अगष्टलाई आफ्नो स्वतन्त्रता दिवसका रुपमा मनाउने गर्दछ । पाकिस्तान स्वतन्त्र हुँदा पूर्वी पाकिस्तान र पश्चिम पाकिस्तान भनेर दुइवटा राज्य भारतको पूर्व र पश्चिममा थियो ।
सन १९४७ मा स्वतन्त्रता पाएको २४ वर्ष पछि २६ मार्च १९७२ मा भारत सरकारको सहयोगमा पूर्वी पाकिस्तान नयाँ राष्ट्रका रुपमा बंगलादेशका रुपमा स्वतन्त्र भएको थियो ।
कट्टर मुस्लिम राष्ट्रबाट करिव ८ प्रतिशत हिन्दू भएको बंगलादेशमा हिन्दूले पनि अधिकारहरु पाएको थियो । स्वतन्त्रताको लडाइ त्यति सहजै पुरा भएको थिएन । याह्या खान जस्तो कठोर सैनिक शासकबाट शासित पाकिस्तानबाट स्वतन्त्र हुन सहज थिएन । सन १९६९ मा पाकिस्तानको संविधानलाई भंग गरेर शासन बनेका याह्या खानले सन १९७० मा आमचुनाव पनि गराएका थिए ।
सो चुनावमा पूर्वी पाकिस्तानका लोकप्रिय नेता शेख मुजिबुर रहमानको दल विजयी पनि भएको थियो । तर उनलाई प्रधानमन्त्री बनाउनुको सत्ता जेलमा हालिदिए त्यसपछि बंगलादेशमा मुक्ति संग्रामको शुरुवात भयो । २५ मार्च १९७१ मा शुरु भएको स्वतन्त्रताको लडाइमा पाकिस्तानको दमनका कारण करिव ९ महिनाको मुक्ति संग्राममा ३० लाख बंगलादेशीहरुको हत्या भयो । २ लाख भन्दा बढी बंगलादेशी महिलाहरु पाकिस्तानी सैनिकहरुबाट बलात्कृत भए ।
भारतीय सैनिकको हस्तक्षेप पछि पाकिस्तानी सैनिकले आत्मसमर्पण गर्न बाध्य भएपछि सन १९७२ को मार्च २६ मा बंगलादेश स्वतन्त्र भयो । यस लडाइका नायक शेख मुजिबुर रहमानलाई राष्ट्रपिताका रुपमा बंगबन्धुको उपाधी दिइयो । तर बंगलादेशमा गोप्य रुपमा पाकिस्तानका सरकारका लागि काम गर्नेहरुको कमि थिएन । भित्रि रुपमा पाकिस्तानलाई सहयोग गर्नेहरु बंगलादेशको सेनामा पनि पर्याप्त थियो ।
आजकै दिन बंगबन्धु शेख मुजिबुर रहमान तथा उनको परिवारका ४० सदस्यहरुको सामुहिक हत्या गरिएको थियो । सन १९७५ को बिहान भारत आफ्नो स्वतन्त्रता दिवस मनाउने तैयारी गर्दै थियो । उता पाकिस्तान अघिल्लो दिनको स्वतन्त्रता दिवस मनाए पछि बिश्राम लिँदै थियो । अत्यधिक गर्मीको उच्छ्वास लाग्दो बिहानीको शुरुवात हुन लाग्दै थियो ।
बिहानै बंगबन्धुको ढाका विश्वविद्यालयमा हुने सम्बोधनमा केही बोल्ने आशा बोकेका थिए । तर अर्को तर्फ कम्यूनिष्ट बिचारधारा बोकेर बिद्यार्थीहरुले ब्यबधान गर्न सक्ने सम्भावना पनि केलाइरहेका थिए । मध्यरातमा सेनाको बंगाल लान्सर्स रेजिमेन्ट तथा आर्मर्ड कर्प्सका जवानहरु भने बख्तरवन्द ट्याङ्कहरुमा नयाँ बन्दै गरेको विमानस्थल तर्फ बढ्दै थियो ।
आम जनताका लागि यो कुनै नौलो घटना थिएन । प्राय देखिरहने दृश्य थियो यो । अचानक ट्याङ्क माथि चढेर मेजर फारुखले जवानहरुलाई भने आज सत्ता पल्टिदैछ । त्यसपछि ति जवानहरुलाई अब के गर्नुपर्दछ भनेर सुनाउँदै थिए । एकैछिन पछि बख्तरवन्द ट्याङ्कहरु तीन ठाउँमा बिभाजित भए ।
यसको तीन घण्टामा बंगलादेशको तख्ता पल्टिसकेको थियो । राष्ट्रपति सहित उनको परिवार र निकटका गरेर ४० भन्दा बढीको हत्या भइसकेको थियो । चार मेजरहरु मेजर हुडा, मेजर खान्डेकर अब्दुर रशीद, मेजर शैयद फारुक रहमान र मेजर शरीफुल हक दलिमको नेतृत्वमा रहेका तीनसय जवानहरुको समुहले यो सबै हत्या गरेका थिए । यो समुहले बंगबन्धुसंग रुष्ट रहेका मेजर जनरल जियाउर रहमानसंग पनि भेटेका थिए ।
सेनाको प्रमुख हुने पालो आउँदा पनि कनिष्ठ मेजर जनरल शफिउल्लाहलाई सेना प्रमुख बनाएकोमा खुशी थिएनन् । दोश्रो बंगबन्धुको कार्यकालमा वाणिज्य मन्त्री रहेका खोन्डकर मुस्ताक अहमदलाई पनि भेटेका थिए । बंगलादेशका राष्ट्रपिता तथा उनको सपरिवार सहित ४० जनाको हत्याको पछाडि मुख्य भूमिका जियाउर रहमानकै रहेको अनुमान गरिएको थियो । तर हत्या पश्चात उनले सत्तामा जान खोजेनन् । यस घटनाको दुइ वर्ष पछि मात्र राष्ट्रपति बने । उनको पनि हत्या भएको थियो ।
राष्ट्रपति भवनमा पसेको सैनिकहरुले सबैभन्दा पहिले जेठो छोरा शेख कमालको हत्या गरेका थिए । यसपछि राष्ट्रपतिका सामु राजीनामा दिन दवाव दिए । अस्विकार गरेपछि उनको हत्या गरियो । सिढीको नजिकै उभिएका उनलाई गोली हानिए पछि सिढीमा गुल्टिदै तल पुगेका थिए । पछि पुन गोली हानिएको थियो । राष्ट्रपतिका पत्नी शेख फाजिलतुन्नेसलाई माथिल्लो तलामा गोली हानिएको थियो ।
यसरी देशको स्वतन्त्रताको लडाइमा होमिएका शेख मुजिबुर रहमानका दुइ छोरीहरु भने जर्मनमा रहेका कारण बाँचेका थिए । यिनै दुइ छोरी मध्य जेठी छोरी शेख हसिना वाजिद बंगलादेशको प्रधानमन्त्री समेत बन्न सफल भए । तर उनको कार्यकालमा बंगलादेशमा परिवर्तनहरु देखिएको थियो । आशाका किरणको शुरुवात भएको थियो ।
तर बंगलादेशको हालैको घटनाले पाकिस्तान समर्थक तथा कट्टर मुस्लिमहरुको बाहुल्य समर्थनमा बंगलादेशमा आन्दोलन चर्कियो । जसको परिणाम आजको अवस्थामा पुगेको छ । त्यहाँ भएको आन्दोलनको मुख्य विषय बंगलादेश स्वतन्त्रताका लागि जीवन गुमाएका करिव ३० लाख बंगलादेशीका परिवारले पाएको आरक्षण नै थियो । यो विषय उठान गर्ने समुह पाकिस्तान समर्थित समुह नै थियो ।
बंगलादेशको हालको घटना सुनेर नेपालीहरु नेपालमा पनि किन यस्तो आन्दोलन हुन सकेन भन्ने टिप्पणी सामाजिक सञ्जालमा कोरिरहेका छन् । तर घटना पछाडि रहेका छद्म भूमिकाहरुलाई बुझेका छैनन् । नेपालमा जसरी ६२-६३ को आन्दोलनमा एक गलत तत्व आन्दोलनमा घुसेपछि नेपाल आजको परिस्थितिमा पुगेको हो भन्ने बिर्सनु हुदैन । दोश्रो आन्दोलनको खाका बुनिरहेका राजनैतिक दलहरुले आन्दोलनको लक्ष गणतन्त्र ल्याउनु वा राजा फाल्नु थिएन ।
तर पछि क्रमश ति राजनैतिक दलहरुका बोलि फेरिदै आए । सिक्का चढाएर राजालाई ढोग्ने तथा दशैको टीका थाप्न लामबद्ध हुने ति राजनैतिक नेताहरु एक्कासी परिवर्तनको नारा दिँदै गणतन्त्रको नारामा पुगेका थिए । एक राजाको खर्च बढी भयो भन्ने तिनै नेपाली आन्दोलनकारीहरु आज सयौ हिले राजाहरु पाल्न बाध्य भएकोमा दुख मनाइरहेका छन् ।
बंगलादेशमा पनि आज त्यही भएको छ । नेपालमा रातो टोपी लाउनेको जत्थाले जसरी आन्दोलनको लक्ष नै परिवर्तन गराएर नेपाल एकिकरण गर्ने पृथ्वीनारायण शाहको सालिक तोडेर सालिकको शिरको फुटबल खेले । आज बंगलादेशमा पनि बंगलादेश स्वतन्त्र राष्ट्र बनाउने राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको सालिक तोडेको छ । उसको स्मृतिमा बनाइएको संग्रहालय जलाइएको छ ।
बंगलादेशको आन्दोलन भित्र कट्टर मुस्लिम संगठनको नियन्त्रण भएको छ । आन्दोलनका लागि करोडौ डलर बिदेशबाट भित्राइएको छ । अब हाम्रो छिमेकी राष्ट्र बंगलादेश पनि एक कट्टरवादी मुस्लिम आतंकवादीहरुको देश बन्नेमा शंका हुने छैन । त्यहाँ रहेका अल्पसंख्यक हिन्दूहरुका लागि समस्या शुरु भएको छ । बंगलादेशको राजधानी ढाकाको नाम नै त्यहाँ रहेको हिन्दू देवी ढाकेश्वरी देवीका कारण रहन गएको हो । तर आज त्यही बंगलादेशमा हिन्दू असुरक्षित रहन पुगेको छ ।
तस्विरमा १२० वर्ष अगाडि खिचिएको ढाकेश्वरी मन्दिर र इनसेटमा बंगबन्धुको परिवार । यस तस्विरमा देखिएकी दुइ दिदीबहिनी बाहेक सबैको आजकै दिन हत्या भएको समाचार सुनिल उलाकले उनको सामाजिक सञ्जाल फेसबुक पेजमा उल्लेख गर्नुभएको छ ।