१० फाल्गुन, काठमाण्डौँ । ‘पालाम सम्राज्ञी’ उपनामले परिचित चर्चित गायिका मनु नेम्बाङका जेठा दाजु रामबहादुर नेम्बाङको ७० वर्षको उमेरमा आज बिहान निधन भएको छ । उनको पाँचथर जिल्ला, फाल्गुनन्द गाउँपालिका–१, नवमीडाँडा सुर्केस्थित आफ्नै निवासमा देहावसान भएको पारिवारिक स्रोतले जनाएको छ।
लामो समयदेखि घरिघरि होस गुम्ने, बोली रोकिने, शरीर काम्ने तथा सुन्न समस्या हुने जस्ता जटिल स्वास्थ्य समस्याबाट नेम्बाङ पीडित थिए। उपचारका क्रममा अस्पतालमा जाँच गरिए पनि रोगको यकिन पहिचान हुन नसकेको परिवारजनले बताए ।
दाजुको स्वास्थ्य अवस्था गम्भीर बनेपछि गायिका मनु नेम्बाङ गत हप्ता मात्रै काठमाडौँबाट भदैनी कामना नेम्बाङ (माइला भाइ भिमराज नेम्बाङकी जेठी छोरी)सँग जन्मघर पुगेकी थिइन्। उनले करिब एक सातासम्म परिवारिक भेटघाट तथा दाजुको राम्रो स्याहार–सुसारपछि उहाँको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार देखिएपछि भदैनी कामनासंग काठमाण्डौँ फर्केको थिए ।
तर हिजो रातिदेखि पुनः असहज महसुस हुन थालेको र आज बिहानै उनका जेठा दाजुको निधन भएको जानकारी गायिका नेम्बाङले दिएकी छन्।
उनको निधनप्रति परिवारजन, आफन्त तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गरेका छन्।

